जनकपुरधाम– कांग्रेस धनुषाको पदाधिकारीमा विमलेन्द्र निधि समूहकै वर्चस्व छ। सभापतिमा निधि समूहको तर्फबाट योगेन्द्र पजियार विजयी भएपछि बाँकी पदाधिकारीका लागि भएको मतगणनामा समेत निधि समूहका सबै उम्मेदवारले जित हात पारेका छन्।
उपसभापतिमा गणेश झा र लक्ष्मीनारायण यादव निर्वाचित भएका छन्। झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत ल्याएका हुन्।
देउवा समूहका तर्फबाट उपसभापति पदका उम्मेदवार रहेका सुरेन्द्रप्रसाद मुन्नाले ७९८ र रामसोभित दाहा धानुकले ७६५ मत प्राप्त गरेका हुन्।
त्यस्तै, उपसभापतिका शेखर कोइराला समूहका उम्मेदवार गणेशप्रसाद जयसवालले ७०८ र हरिशंकर साहले ५९६ मत पाएका छन्।
सचिव पदमा निधि समूहकै कन्हैयाकुमार कर्ण र देवेन्द्रकुमार विजयी भएका हुन्। कर्णले १ हजार १६० र भरखेरले १ हजार १७७ मत ल्याएका छन्।
देउवा समूहका धीरेन्द्रमोहन झाले ८३३ र शिवशंकर गोइत साधुले ८३२ मत प्राप्त गरेका छन्।
सभापतिका लागि पहिलो चरणमा टुंगो नलागेपछि दोस्रो चरणमा निर्वाचन हुँदा निधि समूहका पजियारले देउवा समूहका सन्तोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै जिल्ला सभापति चयन भएका थिए।
दोस्रो चरणको मतदानमा पजियारले १ हजार ७३५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषले १ हजार ४६ मत पाएका थिए। सहसचिवको मतगणना जारी छ।