Badikedar Khabar

बैतडीमा कालाजारका बिरामी देखा परे

धनगढी – बैतडीमा कालाजारका बिरामी भेटिएका छन्। दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको संक्रमण पुष्टि भएको हो। धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको सम्पर्कमा रहेकाको परीक्षण गरिएको छ। उनले भने, ‘कुनै व्यक्तिमा कालाजार देखिएमा सम्पर्कमा रहेका कम्तीमा १५ जनाको नमुना संकलन गरेर परीक्षण गर्ने भन्ने सरकारको नीतिअनुसार हामीले छेउछाउका २१ जनाको नमुना संकलन गरेर परीक्षण गरेका छौँ।’

स्वास्थ्य कार्यालयले गाउँमै स्वास्थ्यकर्मी खटाएर स्थानीयवासीको कालाजार परीक्षण गरेको हो। नमुना संकलन गरेर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य निरीक्षक जोशीले बताए। समुदायका अन्य व्यक्तिमा पनि कालाजारको संक्रमण हुन सक्ने भएकाले परीक्षण गरिएको उनले बताए।
नमुना परीक्षणबाट नेगेटिभ आएपछि उक्त समुदायमा कालाजार नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

याे पनि हेर्नुस्
Loading...