बैतडी – दशरथचन्द नगरपालिका– ४ खलंगा, बैतडीको देहिमाडौँमा जारी पाँचौँ संस्करणको मेयर कप पुरुष टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
खलंगाले दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई ९७ रनले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।
खलंगाले दिएको २२१ रनको लक्ष्य पछ्याउने क्रममा दुर्गाभवानी १७.२ ओभरमा १२३ रनमा समेटियो। दुर्गाभवानीका लागि रवीन्द्र नाथले सर्वाधिक ३७ रन बनाए।
हार टार्न नसक्दा दुर्गाभवानी प्रतियोगिताबाटै बाहिरिएको छ।
बलिङतर्फ खलंगाका कप्तान मोहित भण्डारीले ३ तथा प्रदीप चन्द र वीरेन्द्र चन्दले २–२ विकेट लिए। त्यसअघि निंगलाशैनी खेलमैदानमा पहिला ब्याटिङ गर्दै खलंगाले निर्धारित २० ओभरमा प्रदीप चन्दको ८१ रनको मद्दतमा २२० रन बनायो। बलिङतर्फ दुर्गाभवानीका शंकर नाथले २ विकेट लिए ।
खलंगाका प्रदीप चन्द म्यान अफ दी म्याच घोषित भए।
प्रशिक्षक दीपेन्द्रबहादुर बोहराका अनुसार अर्को खेलमा दशरथचन्द नगरपालिका–११ नागार्जुनले दशरथचन्द नगरपालिका–७ दुर्गास्थानलाई ९२ रनले पराजित गरेको छ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा फागुन २५ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता चैत २ गते सम्पन्न हुनेछ। उपाधि विजेताले ७५ हजार र उपविजेताले ५० हजार नगद तथा ट्रफी र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।