Badikedar Khabar

माओवादी छोडेर एमाले प्रवेश गरेकालाई प्रचण्डको व्यङ्ग्य–’बरु विप्लव, वैद्य र बिजुक्छेको पार्टीमा जानू’

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताउनु भएको छ ।

पार्टीको प्रदेश-१ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै चुनावपछि थप छलफल हुने र छलफलबाट फेल भए आफूले  नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताउनुभयो । यस्तै, उहाँले पछिल्लो समयमा माओवादी केन्द्र प्रवेश गर्नेको लाइन लाग्ने गरेको पनि दाबी गर्नु भएको छ।

उहाँले भन्नु भएको छ :’ खुमलटारमा दिनदिनै प्रवेश गर्नेहरूको लर्काे लाग्ने गरेको छ । एमालेबाट कांग्रेसबाट साथीहरू आउने क्रम जारी छ ।’

माओवादी छाड्नेहरूको प्रसङ्गमा भने उहाँले एमसीसीलाई देखाएर पार्टी छाडेका नेताहरु नेकपा एमालेमा प्रवेश गरेको भन्दै टिप्पणी गर्नुभयो। एमसीसीको विरोध गरेर एमालेमा जानु हास्यास्पद भएको उहाँको टिप्पणी छ ।

उहाँले माओवादी छोडेकालाई एमालेमा जानुभन्दा नेत्र विक्रम चन्द  विप्लवको नेपाल कम्युनिस्ट पार्टीमा, नारायणमान बिजुक्छेको नेमकिमा र मोहन वैद्यको नेकपा क्रान्तिकारीमा  जानु भन्दै व्यङ्ग्य गर्नुभयो ।

यस्तै उहाँले तत्कालका लागि एमालेको केपी गुटसँग कुनै सहमति नहुने पनि प्रष्ट पार्नु भएको छ ।  प्रचण्डले आफ्नै सङ्गठन बलियो बनाएर चुनावमा जाने पनि दाबी गर्नुभयो । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उहाँको भनाइ छ ।

याे पनि हेर्नुस्
Loading...