Badikedar Khabar

मान्छे–मान्छेबीच हुने विभेद अन्त्य गर्न जरुरी छः उपराष्ट्रपति

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेबीच हुने विभेद अन्त्य हुनुपर्ने बताएका छन्।

काठमाडौँमा आइतबार आयोजित स्वर्णिम युग फाउन्डेसन शुभारम्भ तथा खेम शर्माद्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा उपराष्ट्रपति पुनले समाजमा धनी–गरिबबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको विभेद अन्त्य हुनुपर्ने बताए।

उपराष्ट्रपति पुनले विभेद अन्त्यका लागि थुप्रै खालका राजनीतिक संघर्ष भए पनि जनताले अपेक्षा गरेअनुसार परिवर्तन हुन नसकेको बताए।

उनले भने, ‘सबै मान्छे समान हुनुपर्छ। मान्छे–मान्छेबीच विभेद हुनुहुँदैन। असमानता हुनुहुँदैन। कसैका छोराछोरीले पढ्न पाउने, कसैको छोराछोरीले पढ्न नपाउने, कोही व्यक्तिले करोडौँ खर्च गरेर उपचार गर्न पाउने, कोही सिटामोल पनि नपाएर मर्नुपर्ने यो कस्तो असमानता ? यो खालको विभेद, यो खालको असमानता किन छ समाजमा ? त्यसकारण हामीले भन्ने गरेका छौँ समानता हुनुपर्छ। विभेद अन्त्य हुनुपर्छ। त्यसकारण थुप्रै अभियान चल्ने गरेका छन्। यो राजनीतिक परिवर्तन असमानता अन्त्यका लागि, यो विभेद अन्त्यका लागि पटक–पटक थुप्रै संघर्ष जनयुद्ध भए, सशस्त्र संघर्ष भए, गणतन्त्र प्राप्त भयो। धर्मनिरपेक्षता, समानुपातिक, समावेशीता आएको छ। र नयाँ संविधान बनेको छ। देशले केही काँचुली फेर्ने जमर्को गरेको छ। हामीले जति चाहेका छौँ त्यति पाउन सकिराखेका छैनौँ।’

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिन सक्छु भनेर सोच्नुपर्ने बताए। सकारात्मक सोचका साथ देशका लागि सकेको योगदान गर्नुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘देशले मलाई केही दिएन भन्नुभन्दा पनि मैले देशलाई के दिएँ ? के दिन सक्छु ? के गर्न सक्छु भन्ने सोचको विकास हुनु जरुरी छ जस्तो मलाई लाग्छ। त्यसकारण यही कुरालाई अलि बढी फोकस गरेर समाजमा सकारात्मक सोचको विकास होस् र सबैले सकारात्मक ढंगले सोचौँ। र, केही न केही आफ्नो ठाउँबाट योगदान गरौँ भनेर अभियान थाल्ने अभियानकर्मीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।’

उनले अनुशासित, नैतिकवान, पारदर्शी र अरुको हितका लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्न सक्ने बताए।

याे पनि हेर्नुस्
Loading...