Badikedar Khabar

डोटीमा कांग्रेसको विशाल आमसभाः कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी

डोटी नेपाली कांग्रेस डोटीले दिपायलमा विशाल आमसभा गरेको छ । नेपाली कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत आइतबार दिपायल सिलगढी नगरपालिकामा सभाको आयोजना गरेको हो ।

जिल्लाका अधिकांश पालिकाहरुमा कार्यक्रम गरिसकेको डोटी कांग्रेसले आइतबार दिपायल सिलगढी नगरपालिकामा आमसभाको आयोजना गरेको हो । सोमबार पूर्वीचौकी गाउँपालिका र मंगलबार शिखर नगरपालिकामा आमसभाको आयोजना गरिने डोटी कांग्रेसले जनाएको छ ।

दिपायलमा गरिएको आमसभालाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायर, कांग्रेस केन्द्रीय प्रतिनिधि एवं निवर्तमान केन्द्रीय सदस्य किरण गिरी, जिल्ला सभापति, उपसभापति, महाधिवेशन प्रतिनिधि लगायतका नेता कार्यकर्ताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा डोटी लगायत सुदूरपश्चिम तथा देशै भर कसैले हराउन नसक्ने दाबी गरेका थिए ।

देशको सबैभन्दा पुरानो र लोकतान्त्रिक जनताको पार्टी नेपाली कांग्रेसलाई कुनै पनि शक्ति र पार्टीले हराउन नसक्ने कांग्रेस सुदूरपश्चिम सभापति वीर बहादुर बलायरको दाबी छ । जनताले कांग्रेस बाहेक यो देश अरुले सञ्चालन गर्न नसक्ने कुरा अवगत भैसकेको बताउँदै उनले अब जनताले कांग्रेसलाई २०३६ साल, २०४६ साल पछिको जस्तै जनमत दिएर विजय गराउने विश्वास व्यक्त गरे ।

कम्युनिष्टहरुको झुटो चरित्र, राष्ट्रिय ढुकुटीको दोहन, भ्रष्टाचार, सुशासन विपरितका कार्यले जनता अब आफ्नै घर कांग्रेसमा फर्किएको केन्द्रीय प्रतिनिधि किरण गिरीले बताए । सम्बोधनका क्रममा एमसिसी राष्ट्रिय हितमा रहेको बताउँदै उनले जनता र देशको दिगो र छरितो विकास नचाहने कम्युनिष्टहरुले भ्रम फैलाएको बताउँदै भ्रममा विश्वास नगर्न आग्रह गरे ।

दिपायलमा आयोजना गरिएको पालिका स्थरीय आमसभामा आज सम्मकै बढी जन सहभागिता रहेको कांग्रेसको दावी छ । जिल्ला अन्य पालिकाहरुमा पनि कार्यक्रम सञ्चालन गर्दा उल्यख्य मात्रामा जनसहभागिता रहेको पार्टी सभापति नरेन्द्र बहादुर सिंहले बताए । जनताहरुले कांग्रेसलाई देश सञ्चालन गर्न र समृद्धीको बाटोमा लग्नका लागि अपिल गरिरहेको बताउँदै अवको निर्वाचनमा कांग्रेस वडा तह देखि केन्द्र सम्म बहुमतले विजय हुने बताए ।

आमसभामा बोल्ने बक्ताहरुले कांग्रेसको नेतृत्व रहेको स्थानीय पालिका सरकार र कम्युनिष्टको नेतृत्व रहेको स्थानीय पालिका सरकारको पनि समिक्षा गरेका दिए । कम्युनिष्टको नेतृत्व रहेको पालिकाहरुमा भ्रष्टाचार, नाताबाद र कृपाबाद मौलाएको र कार्यकर्तामुखी योजना र बजेट बाँडीएको तर काम नभएको नेताहरुले बताएका थिए । कांग्रेसले जितेका पालिकाहरुमा जनमुखी र पादर्शी सुशासन युक्त काम भएको छर्लङ्ग रहेको नेताहरुले बताएका थिए ।

कार्यक्रममा सबै पालिकाहरुमा सयौंको संख्यामा पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ । अघिल्लो निर्वाचनमा सबै ठाउँमा कांग्रेस बलियो हुँदा हुँदै मतदाता शिक्षाका अभावले निर्वाचन हारिएको बताउँदै अबका दिनमा यसलाई प्रभावकारी बनाएर कांग्रेसको एक मत पनि खेर नजाने र रुख बाहेक मत नजाने कांग्रेसको दावी छ ।

डोटी लगायत सुदूरपश्चिममा कुनै पनि हालतमा कसैसँग पनि चुनावी गठबन्धन नहुने कांग्रेसका नेताहरुले जनाएका छन् । उनिहरुले कांग्रेस प्रति आस्थावान जनताहरुले रुख बाहेक अन्त भोट हाल्न नपर्ने बताउँदै ढुक्क भएर कांग्रेस जिताऔं अभियानमा लाग्न अपिल गरे ।

याे पनि हेर्नुस्
Loading...