Badikedar Khabar

साउदी अरामकोले तेलको उत्पादन बढाउने

साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोले तेलको उत्पादन ठूलो मात्रामा बढाउने भएको छ।

तेल उत्पादनका लागि आवश्यक लगानी अरामकोले बढाउने योजना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ मा मुनाफा दोब्बर भएपछि अरामकोले लगानी दोब्बर गर्ने भएको हो ।

अरामकोले आउँदो पाँच वर्षमा तेल उत्पादन बढाउने उद्देश्य लिएको छ। पछिल्लो महिना मागको तुलनामा तेल तथा ग्यासको आपूर्ति कम हुँदा मूल्य बढेको छ ।

युक्रेनमा जारी युद्ध र रुसी तेलमाथिको निर्भरताबाट छुटकारा पाउनका लागि विकल्पको खोजी भइरहेको छ । मूल्य बढ्दै गएका बेला उत्पादन बढाउने योजनाको विश्वका नेताहरुले स्वागत गर्ने सम्भावना छ ।

अरामकोले गर्ने थप लगानीको परिणाम पाँचदेखि ८ वर्षमा देखिने भएकाले तत्कालका लागि समस्या समाधान भने हुने देखिँदैन । गएको हप्ता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले साउदी अरेबियाको भ्रमण गरेका थिए ।

उनले साउदी अरेबियालाई विश्व बजारमा छोटो अवधिमा तेलको आपूर्ति बढाउन दबाब दिएका थिए।

साउदी अरामको अर्गनाइजेशन अफ द पेट्रोलियम एक्सपोर्टिङ कन्ट्रिज ओपेकको ठूलो उत्पादक हो। तेलको मूल्य विश्व बजारमा पछिल्लो १४ वर्ष यताकै उच्च भएका बेला उत्पादन बढाउने योजना मूल्य कम गर्ने विकल्पका रुपमा रहेको छ।

याे पनि हेर्नुस्
Loading...