नेपालगञ्ज – बाँकेमा म्यादी प्रहरी हुनेको भीड लागेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेमा म्यादी प्रहरीको फाराम भर्नेको लामाे लाइन लागेको हो।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार बाँकेमा एक हजार ६८८ जना म्यादी प्रहरी भर्ना गरिँदैछ। चैत्र ६ देखि ११ गतेसम्म फाराम भर्ने अवधि राखिएको छ।
पहिलो दिन आइतबार नै एक हजार जनाले फाराम लगेका छन्। त्यसमा सात सय जनाको फाराम दर्ता भएको छ। भीडभाड बढी भएकाले सबैको दर्ता गर्न नसकिएको बाँके प्रहरीले जनाएकाे छ। उनीहरुको साेमबार दर्ता हुने प्रहरीले बताएको छ।
जिप्रकामा फाराम भर्नेको लाइन बाहिरसम्म देख्न सकिन्छ। बेरोजगारीको समस्याले गर्दा म्यादी प्रहरी हुनेको भीड लागेको छ। जिप्रकामा फाराम लिने र दर्ता गर्नेको तँछाडमछाड नै देखिन्छ।