अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल भ्रमण पूरा गरी फर्किएको छ। उपाध्यक्ष सुमारसहितको टोली हिजो बेलुकी स्वदेश फर्किएको हो।

उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो ।
सबै भेटवार्तामा एमसीसी प्रतिनिधिमण्डलले नेपालको भौतिक पूर्वाधारको विकासका लागि परियोजना महत्त्वपूर्ण रहेको बताएको थियो । स्वदेश फर्कनुअघि पत्रकार सम्मेलन गर्दै सुमारले सम्झौता संसदबाट अनुमोदन गर्न अत्यन्त जरुरी रहेको र छिटो अनुमोदन हुनेमा आफू आशावादी रहेको बताउनुभएको थियो।
