जनकपुरधाम– धनुषामा कोरोना भाइरसविरुद्धको मोदेर्ना खोप लगाएका एउटै विद्यालयका १० जना विद्यार्थी बिरामी परेका छन्।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ७ स्थित मेरीगोल्ड सेकेण्डरी बोर्डिङ स्कुलका १० जना विद्यार्थी खोप लगाउँदा बिरामी परेका हुन्।
खोप लगाएका विद्यार्थीहरुमा अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस् हुनेजस्ता लक्षण देखिएको शिक्षक इन्द्रदीप साहले जानकारी दिए। बिरामी हुने विद्यार्थीहरु ६ कक्षाभन्दा माथिका रहेका छन्।
आइतबार झण्डै तीन सय विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाइएकोमा सोमबार बिहान १० बजे विद्यालय आउँदा एकाएक १४ जना विद्यार्थी बेहोस भएको शिक्षक यादवले बताए। त्यसमध्ये १० जना सिकिस्त रहेका छन्। ४ जना विद्यार्थी भने स्थानीय स्तरमै उपचारपश्चात घर फर्किसकेका छन्।
सिकिस्त हुने विद्यार्थीहरुलाई प्राथमिक उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ।
विद्यार्थीहरुको उपचार गरिरहेका बालरोग विशेषज्ञ डाक्टर जितेन्द्र जयसवालले त्रासका कारण उनीहरुमा मास हिस्टेरिया भएको हुनसक्ने बताए। अस्पताल भर्ना भएका विद्यार्थीहरुको अवस्था अहिले सामान्य रहेको उनले बताए।