काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सात वटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ।
सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको जानकारी दिए।
आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सात प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको उनले बताए।
त्यस्तै निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिने आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेक ७३ राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण २०७८ चैत्र ६ गतेभित्र पेश गर्न पत्राचार गरेकोमा आयोगमा ५८ वटा दलबाट विवरण प्राप्त भएको उनले जानकारी दिए।
निर्वाचन आयोगले ११०२ नम्बरको टोल फ्री नम्बर चैत्र १५ गतेदेखि सुरु गर्न लागेको पनि प्रवक्ता पौडेलले जानकारी दिए। उक्त नम्बरमा मतदाता, आम नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने उनले बताए।
त्यसैगरी हरेक मतगणनास्थलमा दृश्य अवलोकन प्रणाली जडान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिएको पनि उनले बताए।
आयोगका प्रवक्ता पौडेलका अनुसार आयोगबाट आगामी स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। यस्तै स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगको चैत ४ गतेको निर्णयअनुसार २०७९ वैशाख ११ गतेबाट सुरु हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ।