चैत्र १६, डोटी ।
डोटीको जोरायलमा चौथो अध्यक्ष कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७८ आयोजना हुने भएको छ ।
जोरायल गाउँपालिकाको आयोजनामा यहि चैत्र २३ गतेदेखि २६ गतेसम्म गाउँपालिकाको केन्द्र राउतकट्टेमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
FIVB को नियमानुसार खेलाईने प्रतियोगितामा प्रथम पुरुस्कार रु. १ लाख ११ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र, द्वितीय पुरुस्कार रु. ५५ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र, तृतीय पुरुस्कार रु. २५ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र तथा सान्त्वना पुरुस्कार रु. १५ हजार ५ सय नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र रहेको जनाईएको छ ।
जोरायल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत नरेन्द्र सिं ठगुन्नाका अनुसार एक पालिकाको खेलाडी अर्काे पालिकाको टिममा खेल्न पाउने छैन र खेलाडी सम्बन्धित पालिकाको स्थायी बासिन्दा हुनुपर्नेछ । साथै टिम दर्ता गर्दा सम्पूर्ण खेलाडीको नागरिकताको प्रतिलिपी अनिवार्य समावेश गर्नुपर्ने र नागरिकता नभएको खण्डमा सम्बन्धित पालिकाले सिफारिस गरेर पठाउनुपर्ने नियम बनाईएको उनले बताए ।
टिम दर्ता चैत्र २१ गतेसम्म गरिसक्नुपर्ने र चैत्र २२ गते टाइ सिट प्रकाशन गरिने जोरायल गाउँपालिकाका खेलकुद प्रशिक्षक पवन कुमार शाहुले जानकारी दिए ।
जिल्लाभित्रका सबै नगरपालिका र गाउँपालिकाहरुलाई एउटा–एउटा टिम दर्ताका लागि जोरायल गाउँपालिकाले सार्वजनिक सूचनामार्फत अनुरोध समेत गरेको छ ।
चैते दशैं र नयाँ वर्षको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।