आफैलाई तारो बनाउदै प्रमुख विपक्षी नेकपा एमालेले निरन्तर अवरुद्ध गरेको संसद बैठक सहज बनाउने पहल स्वरुप सभामुख अग्नि सापकोटाले सोमबार आयोजना गर्नु भएको सर्वदलीय बैठक बिनानिष्कर्ष सकिएको छ ।
संसद भवन बानेश्वरमा झण्डै साढे २ घण्टा बसेको बैठकमा संसदमा अवरोध गर्दै आएको एमालेनै सहभागी नभएपछि कुनै सहमति जुटेन । नेताहरुले भने सभामुख सापकोटालाई पुनः प्रतिपक्षसँग वार्ता र संवाद गरेर निकास खोज्न सुझाव दिएका छन् ।
बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिपक्ष एमाले बैठकमा सहभागी नै नभएपछि कुनै निचोडमा पुग्न नसकेको जानकारी दिनुभयो ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले सभामुख सापकोटा र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिपक्ष दलका नेताहरुलाई हटलाइनमा फोन गर्दा आजको बैठकमा उपस्थित हुन सकिदैन भन्ने जवाफ दिएको जानकारी बैठकमा प्राप्त भएको बताउनुभयो ।
प्रतिपक्षी एमालेलाई समेत सहभागी बनाएर छलफल गर्न सभामुखलाई नेताहरुले सुझाव दिएको पौडेलले जानकारी दिनुभयो । कानुन बमोजिम नेकपा एकीकृत समाजवादी गठन भएकाले त्यही बहानामा बैठकमै आउँदिन भन्नु एमालेको हठ र इगोमात्रै भएको उहाँको प्रतिक्रिया थियो ।