काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आज आइतवार ‘हेर्न नमिल्ने’ मा परेको छ ।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीले यसअघि नै एकीकृत समाजवादीकै सांसद सोमप्रसाद पाण्डेयलाई विपक्षी बनाएर दायर भएको रिटमा आफूहरूले आदेश दिएको र मुद्दा जोडिएकाले आफूहरूले सुनुवाइ गर्न नमिल्ने बताएपछि आज सुनुवाइ नभएको हो ।
एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाले कारबाहीको सूचना जारी नगरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो । एमालेले यही एजेन्डालाई अघि सारेर प्रतिनिधि सभाको बैठकमा पनि अवराेध गर्दै आएको थियो ।