नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनमा पाँच दलको गठबन्धन बन्ने भएपछि जनविरोधी शक्ति डराएर जथाभावी बोल्न थालेको आरोप लगाएका छन् । वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर चुनावमा जाने सहमति भएपछि जनविरोधीहरूको मुख चाउरिएको र निन्द्रा हराम भएको उनले दाबी गरे ।
आइतबार समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनका बीचमा चुनावी तालमेल गरेर जाने सकारात्मक सहमती भएको बताए । ‘यसबाट जनता उत्साहित भएका छन्,’ नेता नेपालले एमाले नेताहरुतिर संकेत गर्दै भने ‘तर जनविरोधीहरुको भने निद्रा विथोलिएको छ ।’ वामपन्थी र लोकतान्त्रिक शक्तिबीच गठबन्धन गरेर अगामी निर्वाचनमा जाने सहमतिले जनविरोधीहरु बिचलित भएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले नेकपा एमालेसँग एकताको सम्भावना भने नरहेको बताए । पत्रकारहरुले एमाले, माओवादी र समाजवादीलाई मिलाउन चीनले प्रयास गरिरहेको कुरा आइरहेको भन्दै जिज्ञासा राखेपछि अध्यक्ष नेपालले ओली प्रवृतिसँग एकताको सम्भावना नै नरहेको बताए । उनले एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै ‘दिमाग खुस्केको मान्छे’ भएको आरोप पनि लगाए । आफुहरुले सुसंस्कारको राजनीति गरिरहेको दाबी गर्दै उनले ओलीलाई भने दिमाग खुस्केको जस्तो जे पायो त्यही बोलिरहेको आरोप लगाए । अध्यक्ष नेपालले वीन–वीनको अवस्थामा चुनावी तालमेल गर्ने बताए ।
उनले अहिले नेकपा समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गर्दै प्रतिगामी शक्तिहरु त्यसलाई रोक्न न्वारनदेखिको बल लगाएर लागिपरेको बताए । ‘समय परिवर्तनको पक्षमा भएकाले उनीहरुको त्यो प्रयास सफल हुुनेछैन ।’ नेपालले भने । संविधानको रक्षा र संघीयता जोगाउने काम एकीकृत समाजवादी पार्टीले गरेकाले सबैतिर प्रशंसा भइरहेको उनको भनाइ छ ।
काँग्रेसका स्थानीय नेताहरुले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराए निर्वाचनमा गठबन्धन नगर्ने टिप्पणी गरिरहेका बेला नेपालले यस विषयमा गठबन्धन बिच सल्लाह अनुसार अघि बढ्ने जानकारी दिए । कसै एक नेताको विचारले काँग्रेसको केन्द्रमा भएको सहमतिमा असर नपर्ने उनले जिकीर गरे ।
कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर तथा नेकपा (एमाले) का नेता अशोककुमार चन्दलाई नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गराउन नेपाल यहाँ आएका हुन् । मेयर चन्दसँगै पाँचवटा वडाका अध्यक्षसहित निर्वाचित २६ जनप्रतिनिधि समाजवादीमा प्रवेश गरेका छन् । १० वडा रहेको बेदकोटमा आठ वडाध्यक्ष एमालेले जितेको थियो । आठमध्ये पाँचजनाले एमाले परित्याग गरेका छन् । मेयर चन्द एमालेभित्र माधव नेपाल समूहमा सक्रिय थिए ।