Badikedar Khabar

कोभिडका कारण नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीले शुक्रबारभित्र निवेदन दिन सक्ने

काठमाण्डाै – कोरोनाले गर्दा नेपाल फर्किएर विदेश पढ्न जान नपाएका विद्यार्थीले आउँदो शुक्रबारभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।

कोरोना महामारीका कारण चीन लगायत देशबाट फर्किएका विद्यार्थीले अध्ययनका लागि पुनः सम्बन्धित देश जान आउँदो शुक्रबारसम्म मन्त्रालयमा निवेदन दिन सक्ने शिक्षा मन्त्रालयले जनाएको छ । कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए ।

कोरोना र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका उनीहरुलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन भनेको हो । त्यसका लागि www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected] मा निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले फेरि चीन गएर पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन सरकारलाई आग्रह गर्दै आएका थिए । गएको हप्ता चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा नेपाली विद्यार्थीको समस्या प्राथमिकताका आधारमा समाधान गर्ने सम्झौता भएको  थियो । परराष्ट्र मन्त्रालयसँगको सहमतिपछि शिक्षा मन्त्रालयले अलपत्र परेका विद्यार्थीलाई अध्ययनका लागि पुनः चीन पठाउन प्रक्रिया थालेको हो ।

याे पनि हेर्नुस्
Loading...