काठमाण्डाै – चार दिनदेखि फोहोर नउठाउँदा काठमाण्डौ उपत्यकामा दुर्गन्ध फैलन थालेको छ । पासाङल्हामु राजमार्ग कालोपत्र गर्न माग गर्दै स्थानीयबासीन्दाले गरेको अवरोधका कारण फोहोरका गाडी सिसडोलमा जान नसक्दा काठमाण्डौ उपत्यकाको फोहोर उठान नसकिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
सिसडोल पुग्ने सडकमा भएको अवरोधका कारण शुक्रवारदेखि नै काठमाण्डौको फोहोर उठेको छैन । यसअघि मंसिर र फागुनमा पनि सिसडोलका बासिन्दाले अवरोध गर्दा काठमाण्डौमा लामो समय फोहोर थुप्रिएको थियो । सडक तत्कालै कालोपत्र गर्ने सहमति भएपछि अवरोध हटेको भए पनि कालोपत्र गर्ने काम शुरु नभएको भन्दै स्थानीयले फेरि अवरोध गरेका हुन् ।
आफूहरुले सडक कालोपत्रको काम तत्काल शुरु गर्न ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई दवाब दिइरहेको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता इश्वरमान् डङ्गोलले जानकारी दिनुभयो । उहाँले अहिले फोहोर उठान समस्या रहेकोले कुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र नकुहिने फोहोर पनि केही दिन सडकमा नल्याउन आग्रह गर्नुभयो । काठमाण्डौ उपत्यकामा एकै दिन एक हजार दुई सय टन भन्दा धेरै फोहोर उत्पादन हुन्छ ।