धनगढी , सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको मेयरका लागि मुख्य राजनीतिक दलका कयौं नेताले आकांक्षा देखाएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि नेताहरुले आआफ्नो पार्टीभित्र लबिङ सुरु गरिसकेका छन् ।
निर्वाचनमा गठबन्धन हुने भएपछि सुदूरपश्चिमका प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रमध्ये उपमहानगरमा कसले कुन पद पाउने भन्ने अन्योल समेत थपिएको छ । गत निर्वाचन कांग्रेसले जितेको धनगढीमा मेयरको स्वभाविक दाबी आफ्नै पार्टीको रहेको कांग्रेस जिल्ला सचिव केशव मिश्रले बताए ।
नेकपा एमालेभित्र पनि टिकटको दाबी गर्नेको संख्या बढेको छ । अघिल्लो निर्वाचनमा तेश्रो स्थानमा सिमित एमालेबाट यसपटक पुनः दुर्गा जोशीले नै मेयरको दाबी गरेका छन् । यसअघि पनि मेयरको टिकट पाएकाले नेकपा एमालेले आफूलाई नै टिकट दिनेमा विश्वस्त रहेको नेता जोशीले बताए । पार्टीले टिकट दिनेमा विश्वस्त भएपनि धनगढीमा पार्टीभित्रको समस्या समाधान नभए चुनाव जित्न कठिन देखिएकाले पार्टीले पहिला यो समस्या समाधान गर्नुपर्ने उनी बताउँछन् । जिल्लामा पार्टीको विभिन्न जिम्मेवारी निर्वाह गरेका र हालसम्म लाभको पदमा नपुगेका रणबहादुर चन्दले पनि टिकटको तिब्र लबिङ गरिरहेका छन् । सोही पार्टीबाट राजेश खाती र जीवन बमले पनि मेयरमा लबिङ गरेका छन् ।
एमाले विभाजनपछि बनेको एकीकृत समाजवादी पार्टीको पनि सुदूरपश्चिममा बलियो पकड छ । सो पार्टीबाट व्यवसायी राजेश भण्डारी र मदन रेग्मी धनगढीको मेयरमा दाबी गरिरहेका छन् । पटकपटक पार्टी परिवर्तन गर्दै हाल समाजवादीेमा पुगेका भण्डारीले समाजवादीेले मेयरको टिकट नदिए राप्रपाबाट भएपनि मेयरमा उम्मेदवार बन्ने आफू निकटहरुसँग बताउन थालेका छन् । तर गठबन्धनमा आफ्नो पार्टीले मेयर वा उपमेयर पाउनेमा नै उनीहरु ढुक्क हुन सकेका छैनन् ।
माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा उपमेयरमा पराजित शान्ति अधिकारी, सोही पार्टीबाट वडा नम्बर ३ को अध्यक्ष निर्वाचित बलबहादुर ऐर र जनयुद्धकालीन कमाण्डर डिएल भण्डारीेले मेयरमा आंकाक्षा देखाएका छन् ।
नेपाली कांग्रेसबाट हाल उपमहानगरको नेतृत्व गरिरहेका नृपबहादुर वडले मेयरको टिकट आफैले पाउने दाबी गर्दै आइरहेका छन् । ‘केन्द्रले चुनावको तयारी गर्न भनिसकेको छ, त्यसै अनुसार मैले काम पनि अघि बढाइसकेको छु ।’ उनले भने । तर कांग्रेसबाट कृष्णबहादुर महरा, पूर्ण कुँवर लगायतले पनि टिकटका लागि दौडधुप गरिरहेका छन् । उनीहरुले धनगढीको मेयरमा कांग्रेसले नयाँ अनुहार दिनुपर्ने बताउँदै आएका छन् । वड लामो समय नगरपालिका संचालन गर्ने दलीय संयन्त्रमा नेतृत्वसमेत गरेका व्यक्ति हुन् ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले अहिले नै पार्टीले टिकट दिने निर्णय गरिनसकेको बताए । ‘यस विषयमा कुनै छलफल र निर्णय भएको छैन ।’ केही दिनपछि उम्मेदवार छनौट प्रक्रिया सुरु हुन्छ । त्यसपछि सबै वस्तुस्थिति अध्ययन गरेर केन्द्रबाटै निर्णय हुन्छ ।’ उनले भने ।
२०७४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर दोश्रो स्थानमा रहेका व्यवसायी गोपाल हमालले यसपालि ठीक एक महिना अघिबाटै आफनो प्रचार अभियान शुरु गरिसकेका छन् । हमालले धनगढीलाई नेपालकै मोडल शहर बनाउने प्रतिबद्धतासहित फेरि स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनले अहिले व्यापक भ्रष्टाचार रहेको बताउँदै आफूले त्यसलाई हटाएर सामाजिक कल्याणकारी काममा सक्रिय हुने जनाएका छन् ।