काठमाडौं । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (आइतबार) आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर अधिकारीलाई हटाइएको भन्दै विरोधमा रहेको एमालेले दिउँसो साढे १२ पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।
केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले मुलुकको आर्थिक अवस्थाका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न कुपण्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलन राखिएको जनाए ।
उनका अनुसार पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरूको समेत उपस्थिति रहने छ ।
गत बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् ।