Badikedar Khabar

शिखर नगरपालिकामा चुनावी तालमेल नगर्ने कांग्रेसको निर्णय

डोटी- नेपाली कांग्रेस शिखर नगर कमिटिले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नगर्ने निर्णय गरेको छ । गठबन्धनमा रहेका सत्ता साझेदार दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीसँग तालमेलका विषयमा सहमति हुन नसके पछि कांग्रेसले एक्लै चुनाव लड्ने निधो गरेको हो ।

चुनावी तालमेलका सम्बन्धमा सत्ता साझेदार दलका नेताहरुका बीच पटक–पटक छलफल भए पनि सहमति हुन नसकेको कांग्रेसले जनाएको छ । ११ वटा वडाहरु रहेको शिखर नगरपालिकामा माओवादीले ५ वटा वडाध्यक्ष र उपमेयर, समाजवादीले ३ वटा वडा अध्यक्ष दावी गरेपछि कांग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको नेपाली कांग्रेस शिखर नगर कमिटिका सचिव अर्जुन कुमार बलायरले जानकारी दिए । नगरका सबै वडा र नगरमा कांग्रेस एक्लै निर्वाचनमा जाने निर्णय गरेर जिल्ला कार्यसमितिलाई पठाइएको उनले बताए ।

शिखर नगरपालिकामा यस अघि नेपाली कांग्रेले मेयर उपमेयर सहित ७ वटा वडामा जित हाँसिल गरेको थियो । नेकपा एमालेले ३ वटा वडामा विजय हुँदा नेकपा माओवादी एक वडामा सिमित रहेको थियो ।

एउटा मात्रै वडा जितेको माओवादी र औंलामा गन्नमिल्ने कार्यकर्ता रहेको समाजवादीले ८ वटा वडा र उपमेयर माग गरेपछि सहमति जुट्न नसकेको कांग्रेस नगर कमिटि सभापति हर्क बोगटीले बताए ।

जिल्लामा पनि सत्ता साझेदार दलहरुका बीच तालमेलका विषयमा सहमति जुट्न सकेको छैन । जिल्लामा सहमति नजुटेपछि प्रदेश कमिटिमा पठाउने निर्णय भएको छ ।

याे पनि हेर्नुस्
Loading...