काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरू बीचको तालमेल लगायतका विषयमा छलफल गर्न बसेको सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
चुनावी तालमेलको स्वरूप तथा उम्मेदवारको मापदण्डबारे निर्णय गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरू सहित निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको हो ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका नेता अशोक राई, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, नेपाली काँग्रेसका उपाध्यक्ष पूर्णबहादुर खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।
सत्ता गठबन्धनका दलहरूबीच यस अगाडि नै स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भइसकेको भएपनि कुन पालिकामा कुन दलको उम्मेदवारी रहने भन्नेबारे निर्णय हुन बाँकी छ ।