सिन्धुपाल्चोक । खानेपानी मन्त्री उमाकान्त चौधरीले नयाँ बर्ष वैशाखसम्ममा काठमाडौँको धारामा पानी पुग्ने बताउनुभएको छ ।
मन्त्री चौधरीले सरकारी लक्ष्य अनुसार चैत मसान्त भित्रै पानी सुरुङमा हाल्न पाएकोमा खुशी व्यक्त गर्दै सरोकारवालामा आभार प्रकट गर्नुभयो । मङ्गलवार मेलम्ची नदीको पानी पुनः पथान्तरण उद्घाटन गर्नुहुँदै मन्त्री चौधरीले सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना, त्याग, तपस्याको स्मरण गर्नुभयो ।
उहाँले स्थायी रुपमा पानी पठाउन एसियाली विकास बैङ्कको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताउनुभयो । मन्त्री चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभयो । गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो ।
सोही अवसरमा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सङ्घ सरकारको ध्यानाकर्षण गराउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउनुभयो ।
११ बुँदे ज्ञापनपत्र बुझाउँदै अध्यक्ष शेर्पाले हेलम्बुका बाढीपीडितलाई सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट उपलब्ध गराउने रकम प्रति परिवार ५००,००० (पाँच लाख) रुपैयाँ तोकिएकोमा उक्त रकम बढाएर प्रतिपरिवार कम्तीमा १५ देखि २० लाख रकम उपलब्ध गराउने व्यवस्था मिलाइदिन अनुरोध गर्नुभयो ।
‘मेलम्चीको पानी काठमाडौँ लगेबापत रोयल्टीको र विक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँड बापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि ठोस पहल गर्न आग्रह गर्नुभयो ।
सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौँ पुर्याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्न सक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो ।
परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मेलम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा ,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेस प्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेद निधि खनाल, गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायतको उपस्थिति रहेको थियो ।