मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँ गाउँ पुग्ने होडबाजी चलेको छ।मुख्य प्रतिस्पर्धीको रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन्।
यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाले पनि स्थानीय तहहरुमा चुनावी अभियान शुरु गरेका छन्।
ती दलहरु तालमेल गर्ने विषयमा टुंगो नलाग्दा एक्ला एक्लै प्रचारमा जुटेका हुन्।
नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रम अनुसार ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने अभियान सञ्चालन गरिरहेको छ। पालिका स्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन गरिरहेको छ।
कांग्रेस सभापति चतुरबहादुर चन्दका अनुसार निर्वाचन केन्द्रित भएर गाउँगाउँमा चुनावी अभियान सञ्चालन भइरहेको छ। उनले भने,’स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिएको छ। देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको श्रृखंला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो।’
नेकपा एमालेले पनि निर्वाचन केन्द्रित भएर प्रचार प्रसारमा जुटिसकेको जनाएको छ। गाउँ गाउँमा संगठन विस्तार गर्नुका साथै चुनावी अभियानलाई तीव्रता दिएको एमाले बैतडीका सचिव चक्र कार्कीले बताए । उनले भने,’एमाले स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ।’
यस्तै माओवादी केन्द्रले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ। माओवादीका जिल्ला इञ्चार्ज नरेन्द्र कुँवरले देश अहिले माओवादीको एजेण्डामा चलिरहेको बताउँदै नेतृत्वको भूमिकामा पनि माओवादीलाई ल्याउनुपर्ने बताए।
उनले भने,’हामीले बोकेको एजेण्डामा देश चलिरहेको छ तर हाम्रो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन सकेको छैन्। त्यसैले हामीलाई नेतृत्व दिन आवश्यक छ।’
आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका १० ओटै स्थानीय तहमा माओवादीको कुनै न कुनै रुपमा प्रतिनिधित्व हुने गरेर अघि बढिरहेको इन्चार्ज कुँवरले बताए।
एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पनि चुनावी अभियानमा व्यस्त रहेको छ। समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले संगठन बिस्तारका साथै चुनावी अभियानलाई तीव्रता दिएको बताए।