स्थानीय तहको निर्वाचनमा केन्द्रमा पाँच दलीय गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने ४ दलको गठबन्धन हुने भएको छ । केन्द्रमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपालले गठबन्धन गर्ने निर्णय गरे पनि कैलालीमा भने त्यो गठबन्धन नहुने भएको हो ।
धनगढीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी नरहने र अन्य दलहरूसँग तालमेल गर्ने जनाएको हो । जसपाले कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने भएको हो ।
गठबन्धन भित्रै रहेको जनता समाजवादी पार्टीले आगामी वैशाख ३० गते हुने निर्वाचनमा अर्को गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
पछिल्लो पटक सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गर्दा रुष्ट भएको जनता समाजवादी पार्टीले अन्य दलहरूसँग तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरेको हो ।
लोसपाको जिल्ला अध्यक्ष कृष्ण चौधरी, जसपाको जिल्ला अध्यक्ष गया प्रसाद चौधरी, नेपाल लोकतान्त्रिक पार्टी कैलालीका जिल्ला अध्यक्ष माधव थारु र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष केन्द्रीय उपाध्यक्षले सहमति पक्षमा हस्ताक्षर गरेका छन् ।