Badikedar Khabar

आखिर के भएको थियो त्यस दिन रन्चुलामाथि, कसरी पुगिन् मृत्युको मुखसम्म ?

कञ्चनपुरको वेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउँद अब कहिल्यै फिर्ता आउन नसक्ने भएकी छन् । ८ बर्ष पहिले श्रीमान्को मृत्यु भएपछि आफैँले २ छोरीको लालनपालन गरिरहेकी रन्चुला अव कहिल्यै आउन नसक्ने भएकी हुन् । रन्चुलाकी जेठी छोरी सरिता १८ र कान्छी निरा १२ वर्षकी भइन् ।
छोरीहरु सानै हुँदा रन्चुलाका श्रीमान् बितेपछि सबै जिम्मेवारी उनको काँधमा आएको थियो । रञ्चुला गाउँमै प्रधानमन्त्री स्वरोजगारमार्फत निर्माण भइरहेको बछेला पदमार्गमा काम गरेर दैनिक छाक टारिरहेकी थिइन् । रन्चुलाको मृत्यु भएपछि अब उनका छोरीको साहरा नै खोसिएको छ ।
के भएको थियो रन्चुलासँग ?

गत चैत २८ गते एक्कासी रन्चुलाको टाउको दुख्यो । उनी झारफुक गर्न कमला साउँद अर्थात् उनकी जेठानीको घरमा पुगिन् । कमलाले मेरा घरमा २/३ जना धामी, झाँक्री आएका छन् भनेपछि उनी आफ्नो उपचारका लागि त्यहाँ पुगिन् ।
भीमदत्त नगरपालिका–७ हल्दुखालका धर्मानन्द भट्ट र वडा नं.–१ बाराकुण्डाका नारायणदत्त भट्टले रञ्चुलालाई ‘थारुको भूत’ लागेको भन्दै झारफुक गर्नुपर्ने सुझाव दिए । त्यसपछि रन्चुला झारफुक गराउन थालिन् तर उनलाई निको भएन । सामान्य टाउको मात्रै दुखेकी रन्चुलामाथि थारुको भूत लागेको भन्दै धामीहरुले फलामको (रड) सरिया तताएर पटकपटक प्रहार गर्न थाले । आमालाई सन्चो हुन्छ भन्दै छोरीहरु पनि केही बोल्न सकेनन् ।

वैशाख १ गते जब उनकी जेठी छोरीले आमा त बोल्नु हुँदैन के भएको हो भनेर सोधिन् । धामीहरुले केही भएको छैन बेहोस मात्रै भएको भन्दै घर लान दिएनन् । जेठी छोरी सरिताका अनुसार उनकी आमाको मृत्यु १ गते नै भइसकेको थियो । जब उनले मेरो आमा बित्नु त भएको हैन भनेपछि भने उनीहरुले तिमीलाई पनि यस्तै हुन्छ कसैलाई नभन्नु भन्दै धम्काएको उनको भनाई छ ।

 

त्यसपछि उनले डरले अरुलाई भन्न सकिनन् । ३ गते बिहान शव गन्हाउन थालेपछि छिमेकीले के भएको भन्दै सोधेपछि घटना बाहिर आएको रन्चुलाका छिमेकी सुरेन्द्र साउँदले बताए ।
रञ्चुलाको वैशाख १ गते नै मृत्यु भएको स्थानीय बताउँछन् । ‘उहाँको वैशाख १ गते दिउँसो मृत्यु भएको रहेछ,’ स्थानीय सुरेन्द्र साउँदले भने, ‘त्यो घरमा हामीहरु कसैलाई जान दिइएको थिएन, उनका छोरीहरुलाई कसैलाई नभन्नु भनेका रहेछन्, शव गन्हाएपछि मात्रै छिमेकीहरुले थाहा पाएका हुन् ।’
त्यसपछि बेदकोट नगरपालिका ५ का वडा सदस्य धनसिंह पुजारा र प्रहरीको सहयोगमा वैशाख ३ गते बिहान करिव ९ बजेतिर शव बाहिर निकालिएको थियो । मृत्तकको शरीरभरि निल डाम रहेको साउँद बताउँछन् ।

सरिताले पनि आमालाई बन्धक बनाएर राखेकोे बताएकी छन् । ‘दैनिक ६÷७ पटक मन्त्र पढ्नुपर्छ भनेर उनीहरुले आमालाई त्यही राखे, ३० गतेदेखि भेट्न समेत दिएनन्,’ उनले भनिन्, ‘उनीहरुले भूत भगाउने भन्दै आमालाई फलामका रडहरु तताएर पिट्ने गरेका थिए ।’

 

७ जना पक्राउ
जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले घटनामा संलग्न रहेको अभियोगमा ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका–७ हल्दुखालका धामी धर्मानन्द भट्ट, वडा नं.–१ बाराकुण्डाका धामी नारायणदत्त भट्ट, जेठानी कमला साउँद लगायत सात जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । ‘सात जनालाई नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भने, ‘सामान्य सोधपुछ गरेका छौं । बाँकी शव परिक्षण पछि थाहा हुन्छ ।

शव सडी सकेको देखिन्छ । भित्री चोटपटक लागेर पनि मृत्यु भएको हुनसक्छ । ‘घटना शंकास्पद छ, कुटपिट गरेको हुनसक्ने सम्भावना छ,’ उनले भने, ‘शव परीक्षणको रिर्पोट आएपछि धेरै कुरा खुल्न सक्छ ।’ शव हेर्दा २/३ अघिको जस्तो दखिएको प्रहरी नायव उपरीक्षक शाहले बताए ।

याे पनि हेर्नुस्
Loading...