सिन्धुपाल्चोक । स्थानीय तहको निर्वाचन नजिकिएसँगै सिन्धुपाल्चोकमा उम्मेदवारहरूको चर्चा पनि चुलिन थालेको छ ।
१२ स्थानीयतह रहेको सिन्धुपाल्चोकमा नगरपालिकाका मेयर र गाउँपालिकाका अध्यक्षको निर्वाचन नजिकिएसँगै चर्चा र अड्कलबाजी सुरु भएको हो । हरेक पालिकाको प्रमुखमा कसले उम्मेदवारी दिन्छन् भनेर चिया पसल देखि राजनीतिक वृत्तसम्म उत्सुकताका साथ चर्चा हुने गरेको छ । प्रमुख पदका लागि गर्ने गरिएका चर्चा र अड्कल भने पुरुष केन्द्रित हुने गरेको छ । प्रमुख पदको उम्मेदवारीमा महिलाको चर्चा र अड्कलबाजी भने शुन्यप्राय नै छ ।
जिल्ला सदरमुकाम समेत रहेको चौतारा साँगाचोकगढी नगरपालिकाकाको मेयर पदमा बहालवाल मेयर अमानसिं तामाङ र कृष्णप्रसाद सापकोटाको चर्चा चलिरहँदा बहालवाला उपमेयर जानुका पराजुलीको प्रमुख पदमा चर्चा भने कतै सुनिँदैन । काँग्रेसका भूपेन्द्र थापा, एमालेको इन्द्र नेपालको चर्चा मेयरको उम्मेदवारको रुपमा चलिरहँदा न त चमेली श्रेष्ठको चर्चा हुन्छ, न त बालकुमारी सापकोटाको नै चर्चा चल्छ ।
त्यसो त उपमेयर पराजुलीको नगर प्रमुखमा दाबी छँदै नभएको पनि हैन । उहाँले कतिपय सार्वजनिक मञ्च र सञ्चार माध्यमहरूमा मेयरमा आफ्नो दाबी रहेको प्रष्ट पार्नु भएको छ । फेरि पनि राजनीतिक वृत्तमा मात्र हैन प्रमुख पदको सवालमा उहाँको मात्र हैन अन्य महिलाहरूको चर्चा शून्य नै छ । मानौँ प्रमुख पद पुरुषको लागि मात्र हो, र यस्तै देखिन्छ सिन्धुपाल्चोकको चुनावी माहौल पनि । चाहे राजनीतिक वृत्तमा होस, चाहे, दलहरूको आन्तरिक बैठकमा होस वा चाहे चियागफ वा चौतारी गफमा होस उम्मेदवारको चर्चा र परिचर्चा त हुन्छ तर प्रमुख पदमा महिला उम्मेदवारको चर्चाले भने कतै पनि प्रवेश गरेको भेटिँदैन ।
चौतारा साँगाचोकगढी नगरपालिकामा जस्तै जिल्लाकै विकट जुगल गाउँपालिकामा बहालवाला अध्यक्ष होमनारायण श्रेष्ठको पुन उम्मेदवारीको चर्चा चलिरहँदा सानै उमेरमा उपाध्यक्ष बनेर नेपालकै कान्छी उम्मेदवारको उपमा पाएकी सृजना तामाङको अध्यक्षमा चर्चा भने कतै पनि हुने गरेको छैन । उहाँले सार्वजनिक फोरमहरूमा आफ्नो दाबी अध्यक्ष पदमा रहेको बताउँदै आउनु भएको छ । फेरि पनि उहाँको दाबीलाई न त उहाँको दलले नै गम्भीर रूपमा लिएको छ । न त सम्भावित उम्मेदवारको नामावलीभित्र उहाँको नाम नै कतै उल्लेख हुने गर्छ । कतिपय सञ्चार माध्यमहरूले जिल्लाको सम्भावित उम्मेदवारको नामावली सम्प्रेषण गरिरहँदा पनि उहाँको नाम कुनै पनि सञ्चार माध्यममा आएको छैन । अझ दुख लाग्दो कुरा उहाँ मात्र हैन कुनै पनि महिला उम्मेदवारको चर्चा प्रमुख पदमा सुनिँदैन ।
पाँच वर्ष उपमेयरको दायित्व निर्वाह गर्नु भएकी बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिन मेयरका लागि आफू योग्य भएको बताउनु हुन्छ । आफूसँग पाँच वर्ष उपमेयर भएको अनुभवको आधारमा आफू मेयर हुन योग्य भएको उपमेयर पाख्रिनले बताउनु भए पनि आगामी निर्वाचनमा मेयर पदका लागि भने उहाँको चर्चा कतै पनि सुनिँदैन । बाह्रबिसे नगरपालिकामा बरु बहालवाला मेयर निमफुञ्जो शेर्पाको पुन दोहोरिने अड्कलबाजी र चर्चा चल्छ तर उपमेयर पाख्रिनलाई मेयर पदसँग जोडिएर चर्चा गरिएको सुनिँदैन ।
सिन्धुपाल्चोकमा नेपाली काँग्रेसकी लीला नेपाल, एमालेकी बालकुमारी सापकोटा, माओवादी केन्द्रकी अमृता नेपाल र नेकपा समाजवादीकी भगवती नेपाल प्रतिनिधिमूलक महिला नेतृत्व हुन् । जीवनको लामो समय पार्टी र सङ्गठनमा खर्चेकी यी महिला नेतृको चर्चा पनि प्रमुख पदमा छैनन् । पार्टी सबलीकरण र महिला आन्दोलनमा होमिएकी महिला नेतृहरू पार्टीले महिलालाई विभेद गरेको बताउनु हुन्छ ।
चौतारा साँगाचोकगढी नगरपालिकाकी उपमेयर पराजुली महिला नेतृत्वप्रति दलहरूले विश्वास नगर्ने परिपाटी आम पार्टीमा रहेको बताउनु हुन्छ । यस्ता परिपाटीहरूको अन्त्य हुनु पर्ने र आगामी स्थानीय तहको निर्वाचनमा दलहरूले पालिकाहरूको प्रमुख पदमा महिलाको सङ्ख्या बढाउन गम्भीर भएर लाग्नु पर्ने उहाँ बताउनु हुन्छ ।
जुगल गाउँपालिकाकी उपाध्यक्ष तामाङ व्यवस्था फेरिए पनि अवस्था नफेरिएको कारण महिलाहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको बताउनु हुन्छ । एकातिर महिलाहरूले आफूलाई दावेदारीको रुपमा प्रस्तुत गर्न नसक्नु र अर्कोतिर पुरुषहरूले प्रमुख पदमा आफ्नै वर्चस्व खोज्नुले पनि महिलाहरूको चर्चा नभएको उहाँ बताउनु हुन्छ ।
त्यसो त प्रमुख पदका लागि महिलाहरू असक्षम हैनन् । यसअघि पालिकाका उपप्रमुख भएर आफ्ना कर्तव्य निर्वाह गर्दै आएकी महिला उपप्रमुखहरू सक्षम नै छन् । फेरि पनि कुनै पनि पालिकाको चर्चा गर्दा प्रमुखकै नाम मात्र अगाडि आउने गरेको अनुभव मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालको छ । मेयरले जतिको काम हामीले पनि गरेका छौँ तर चर्चा भने मेयरको मात्र हुने गर्छ उहाँले भन्नु भयो समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै उस्तै पुरातन छ ।
महिलालाई नेपाली समाज र नेपाली राजनीतिमा गरिने विभेद र पुरुषवादी सोच, हैकमका कारणले महिला ओझेलमा परेको भोटेकोसी गाउँपालिकाकी उपाध्यक्ष दाबुटी शेर्पाको भनाई रहेको छ । राजनीतिमा पुरुषकै वर्चस्व रहेकै कारणले पनि हरेक निर्वाचनमा प्रमुख पदका लागि पुरुषकै मात्र चर्चा हुने र महिलालाई विश्वास भएर पनि दलहरूले टिकट दिन आनाकानी गर्ने गरेका कारणले पनि महिला उम्मेदवारको चर्चा नभएको शेर्पाको कथन छ ।
जिल्लामा पालिका प्रमुखका लागि हालसम्म कुनै पनि पुरुषले खुलेरै दाबी गरेका छैनन् तर उम्मेदवारको चर्चा भने सम्बन्धित पालिकाको सम्बन्धित पुरुष उम्मेदवारको मात्र हुँदै आएको छ । चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिकाकी उपमेयर जानुका पराजुली र सुशीला पाख्रिनले मात्र हैन जुगल गाउँपालिकाकी उपाध्यक्ष सृजना तामाङले पनि आगामी निर्वाचनमा प्रमुख पदका लागि उम्मेदवारी दिने घोषणा गर्नु भएको छ तर उहाँहरूको चर्चा भने शुन्यप्राय नै छ ।