Badikedar Khabar

कैलालीको लम्किचुहामा देउवा र बलायरका फरक उमेदवार भएपछि…

धनगढी, १२ वैशाख । कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसका सभापति शेरबहकादुर देउवा र प्रदेश सभापति वीरबहादुर बलायरले फरक–फरक उमेदवार प्रस्तुत गरेका छन् । देउवाकै गुटबाट प्रदेश सभापति बनेका बलाएरले तोकेका उमेदवारविरुद्ध देउवाले अर्कै उमेदवार दिएपछि लम्किचुहाको आधिकारिक उमेदवारका विषयमा अन्योल देखिएको छ ।

प्रदेश सभापति वीरबहादुर बलायरले भक्त थापालाई नगरप्रमुखको टिकट दिएका छन् । तर, सभापति देउवाले सुशीला शाहीलाई टिकट दिएपछि आधिकारिकता विवाद देखिएको हो । नेपाली कांग्रेसको विधानअनुसार नगरपालिकाको उमेदवार तोक्ने अधिकार प्रदेशको हो । तर, सभापति देउवाले हस्तक्षेप गरेर शाहीलाई सिफारिस गरेका हुन् ।

उनीहरु दुवैजनाले आफू आधिकारिक उमेदवार भएको दाबी गरेपछि मुख्य निर्वाचन अधिकृत जयनन्द पनेरुले अहिले दुबैलाई स्वतन्त्र उमेदवारी दर्ताका लागि निर्देशन दिएका छन् ।

“अहिलेलाई दुबैको उमेदवारी स्वतन्त्र हैसियतमा दर्ता गर्नू, पछि केन्द्रले जसलाई आधिकारिकता दिन्छ उसैलाई पार्टीको मान्यता दिनु भनको छु,” मुख्य निर्वाचन अधिकृत पनेरुले  भने ।

कांग्रेस लम्कीचुहाका सभापति ईन्द्र कुँवरले भने यस विषयमा आफूलाई कुनै जानकारी प्राप्त नभएको बताए । उनले आफूले पार्टीका तर्फबाट भक्त थापाले टिकट पाएको भन्ने सुनेको भन्दै अहिले सुशीलाले पनि टिकट लिएको भन्ने सुनेर छक्क परेको बताए ।

याे पनि हेर्नुस्
Loading...