Badikedar Khabar

धनगढी उपमहानगरपालिकामा मेयरमा ९ र उपमेयरमा ७ जनाको उम्मेदवारी

सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि ९ जना र उपमेयर पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। राजनीतिक दलका तर्फबाट ६ जना र तीन जना स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा ६ जनाले राजनीतिक दलबाट र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी र जनता समाजवादी पार्टीका कविन्द्र ऐरले मेयरपदमा उम्मेदवारी दिएका छन्। मेयर पदमै स्वतन्त्र उम्मेदवार गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्तले उम्मेदवारी दर्ता गराएका छन्। धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शान्ति अधिकारी र नेकपा एमालेका तर्फबाट कन्दकला रानाले मनोनयन दर्ता गराएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नेपाल परिवार दलका विष्णुकुमारी विक, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरीले उम्मेदवारी दिएका छन्। उपमेयरमा स्वतन्त्रबाट नेपाली कांग्रेस नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै उनले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्। सोमबार बिहान सुरुमा नेकपा एमालेका उम्मेदवारले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए। एमालेको मनोनयन दर्ता पछि दिउँसो गठबन्धनका उम्मेदवारहरुले ट्राफिक चौराहबाट बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका थिए। गठबन्धनको केही दिनदेखि जारी भागबण्डाको छलफल सोमबार दिउँसो मात्रै निष्कर्षमा पुगेको थियो। सुदूरपश्चिमको राजधानी रहेको धनगढी उपमहानगरपालिकाको निर्वाचनलाई सबैले चासोका रुपमा लिएका छन्। मेयर र उपमेयर पदमा मात्रै गठबन्धन भए पनि यहाँका १९ वटै वडामा भने मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले १९ वटै वडामा वडा अध्यक्षदेखि सदस्यसम्मको पदमा आ–आफ्नो तर्फबाट उम्मेदवारी दिएका छन्। धनगढी उपमहानगरपालिकामा ९३ हजार १ सय ५१ मतदाता रहेका छन्। यसअघि २०७४ को स्थानीय तहको निर्वाचन भन्दा यसपालिको निर्वाचनमा करिब १७ हजार मतदाता थपिएका छन्। धनगढीमा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए। यस्तै अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरमा पराजित अधिकारी अहिले गठबन्धनबाट चुनावी मैदानमा उत्रिएकी छिन्। धनगढी उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार वड, एमालेका चन्द र स्वतन्त्र उम्मेदवार हमालबीच मेयर पदमा त्रिपक्षिय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। उपमेयरमा गठबन्धनका अधिकारी र एमालेकी रानाबीच प्रतिस्पर्धा हुने देखिएको छ। टीकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका छन्।१३ स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले गठबन्धनगरी उम्मेदवारी दर्ता गराएका छन् भने वडास्तरमा भने मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ। नेपाली कांग्रेसले धनगढी, गोदावरी नगरपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र वर्दगोरिया गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिका र कैलारी गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ। यस्तै नेकपा (एकीकृत समाजवादी)ले घोडाघोडी नगरपाालिकाको मेयर र चुरे गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।                                          लम्की चुहा मेयरमा कांग्रेसका दुई जनाको उम्मेदवारी            लम्की चुहा नगरपालिकामा मेयर पदमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ। मेयर पदका लागि भक्तबहादुर थापा र सुशीला शाहीले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्। गठबन्धनका तर्फबाट लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसको भाग परेको थियो। दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद भएको छ। पार्टीले आधिकारिक भनेको व्यक्ति कांग्रेसको उम्मेदवार हुनेछ भने अर्को व्यक्ति स्वतः स्वतन्त्र उम्मेदवार हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन्। साभार नागरिक 

याे पनि हेर्नुस्
Loading...