Badikedar Khabar

१ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । निर्वाचन आयोगको प्रणालीमा आज दिउँसो ३ः३० बजेसम्म प्रविष्ट भएको तथ्याङ्क अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

जस अनुसार प्रमुखमा ३ हजार ५१० जना, अध्यक्षमा ३ हजार ३८७ जना, उपप्रमुखमा २ हजार १६८ जना, उपाध्यक्षमा २ हजार ४०१ जना, वडाध्यक्ष ३५ हजार ३५३ जना, महिला सदस्य २६ हजार ५३२ जना, दलित महिला सदस्य २३ हजार ९३१ जना र सदस्यमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।

त्यस्तै आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको छ र ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रवारका दिन नेपालभर सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

त्यस्तै अतिरिक्त मतपत्र रुजु गरी पठाउनको लागि महानगरपालिकामा निर्देशिका बमोजिम शाखा अधिकृत २ जना, सहायक कर्मचारी २ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक १ जना र कार्यालय सहयोगी २ जना थप गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

वैशाख २८ गतेदेखि ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन मुख्य सचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...