डाेटीमा तिन सय ४३ पदको लागि एक हजार ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए। दिपायल सिलगढी नगरपालिकाको प्रमुखको लागि ७ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखको लागि ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी नौ वटा वडा अध्यक्षको लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुल्ला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत काफ्लेले बताए।
डोटीको अर्को नगरपालिका शिखर नगरपालिकाको प्रमुखमा ५ जना र उपप्रमुखमा ३ जनाको उम्मेदवारी परेको छ। शिखर नगरपालिकामा ५७ पदमा एक सय ४८ जनाको उम्मेदवारी परेको छ। पूर्बीचौकी गाउँपालिकामा ३७ पदको लागि एक सय १६ जनाको उम्मेदवारी परेको छ। सायल गाउँपालिकामा ३२ पदको लागि ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आदर्श गाउँपालिकामा ३७ पदको लागि एक सय २० जनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी केआईसिंह गाउँपालिकामा ३७ पदको लागि एक सय १८ जनाले उम्मेदवारी हालेका छन्। बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदको लागि एक सय १५ जनाको उम्मेदवारी परेको छ। बडीकेदार गाउँपालिकामा २७ पदको लागि ८२ जनाले उम्मेदवारी हालेका छन् भने जोरायल गाउँपालिकामा ३२ पदको लागि एक सय १५ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन्।
डोटीमा जम्मा सात वटा पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गरेका हुन्। डोटीमा खासगरी नेपाली कांग्रेस र नेकपा एमालेबीचनै प्रतिस्पर्धा हुने देखिन्छ।
डोटीमा नौं वटा स्थानीयतहगरी जम्मा ६५ वटा वडा रहेका छन्।