Badikedar Khabar

सुदूरपश्चिमका मुख्यमन्त्रीको गृह पालिका केआईसिंहमा कांग्रेस विजयी

दिपायल– डोटीको केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा कांग्रेसका उमेदवार विजयी हुनुभएको हो ।

गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार लोकेन्द्र बहादुर शाही ४ हजार २६२ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उमेदवार केशवनाथ योगीले ३६२ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै उमेदवार मिना देवी विष्ट ४ हजार ७२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उमेदवार  निर्मला अवस्थीले २५३६ मत प्राप्त गर्नु भएको छ ।

केआईसिंह गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनमा चुनाव लडेका थिए । केआईसिंह नेकपा माओवादी केन्द्रका नेता एवं सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपा एकीकृत समाजवादीका नेतृ सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीको गृह पालिका हो ।

अध्यक्षमा निर्वाचित शाही र उपाध्यक्षमा निर्वाचित विष्ट २०७४ को निर्वाचनमा पनि ७ वटा वडासहित भारी मतले विजयी हुनुभएको थियो ।
केआईसिंह गाउँपालिकाका सात वटा वडाहरु मध्य चार वडामा नेपाली कांग्रेस, एक वडामा राप्रपा र एक÷एक वडामा समाजवादी र माओवादीका उमेदवार विजयी हुनुभएको छ ।

वडा नं. १ मा नेपाली कांग्रेसका कृष्ण बहादुर बम, २ मा कांग्रेसकै नेत्रबहादुर रावल निर्वाचित हुनुभएको छ । वडा नं. ३ मा कांग्रेसका रामबहादुर कुवँर र ४ मा कांग्रेसकै जय बहादुर धामी निर्वाचित हुनुभएको छ । त्यस्तै वडा नं. ५ मा समाजवादीका दुर्गा सिंह रावल र ६ मा माओवादीका कृष्ण प्रसाद जैसी निर्वाचित हुनुभएको छ भने वडा नं. ७ मा राप्रपाका दिलबहादुर बलायर निर्वाचित हुनुभएको छ ।

योसँगै डोटीका नौ स्थानीय तहमध्य आठ स्थानीय तहको नतिजा सार्वजनिक भैसकेको छ। जसमा ६ पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ भने एउटामा नेकपा एमाले र एउटामा नेकपा माओवादीले जित निकालेको छ।

जिल्लाका दिपायल सिलगढी नगरपालिका, बडीकेदार गाउँपालिका, पूबीचौकी गाउँपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका र केआईसिंह गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने जोरायल गाउँपालिकामा नेकपा एमाले र बोगटान फुड्सिल गाउँपालिकामा नेकपा माओवादीले जितेको छ।

याे पनि हेर्नुस्
Loading...