दिपायल – डोटीमा यात्रु बाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको रात्रि बस दुर्घटना भएको हो ।
शनिबार बिहान ५ बजेको समयमा शिखर नगरपालिका – १ गेरुपानी सडक खण्डमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ महिने बालक बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।
घाइतेहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताए । घाइते मध्य ५ जनाको अवस्था गम्भीर भएका कारण उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको उनले बताए ।
तीव्र गतिमा रहेको बस चालक निदाए पछि दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट २० मीटर तल नदीको किनारमा खसेको छ । बस चालक फरार छन् ।