Badikedar Khabar

जिसस डोटीका लागि कांग्रेसले सिफारिस गरेका पदाधिकारी

दिपायल- नेपाली कांग्रेसले उमेदवारको टुङ्गो लगाएसँगै डोटी जिल्ला समन्वय समितिको संयोजकमा कांग्रेसका लक्ष्मण सिंह निर्विरोध निर्वाचित हुने पक्कापक्की भएको छ । समितिको उप–संयोजकमा स्मृति चुनारा –बिक) हुने भएकी छन् ।

संयोजक, उपसंयोजक सहित सबै सदस्यहरुमा नेपाली कांग्रेसका उमेदवार निर्विरोध निर्वाचित हुने पक्कापक्की छ । शनीबार कांग्रेसले समन्वय समितिको संयोजक, उप–संयोजक सहितसदस्यहरुको टिकटको टुङ्गो लगाएसँगै सबै पदमा कांग्रेसका उमेदवार निर्विरोध निर्वाचित हुने भएका हुन् ।

जिल्ला समन्वय समिति गठनका लागि कांग्रेससंग स्पष्ट बहुमत रहेको छ । नौ स्थानीय तहमध्ये कांग्रेसले सातमा प्रमुख–उपप्रमुख दुवै र एकमा उपप्रमुख जितेको छ । फलस्वरुप जिल्ला समन्वय समितिमा १८ मतमध्ये १५ मत कांग्रेसको पक्षमा छ ।

जिल्ला समन्वय समितिको सदस्यहरुमा कांग्रेसले दिपायल सिलगढी नगरपालिकाबाट राम बहादुर खड्का, केआईसिंह गाउँपालिकाबाट नरेश खड्का, बडीकेदार गाउँपालिकाबाट ठक्कर बोहरालाई सिफारिस गरेको छ । त्यस्तै जोरायल गाउँपालिकाबाट दीपा खड्का, बोगटान फुड्सिल गाउँपालिकाबाट शान्ता भुल र शिखर नगरपालिकाबाट झकडी कामीलाई सिफारिस गरिएको छ ।

जिल्ला समन्वय समिति एकलौटी गठन गर्ने आधार तय भएपछि कांग्रेसभित्र संयोजक को बन्ने भन्ने बिषयमा विवाद चल्दै आएको थियो । संयोजकका लागि सिंह सहित महाधिवेशन प्रतिनिधि सोपान सिंह बोहरा र दिपायल सिलगढी नगरपालिकाका पूर्व वडाध्यक्ष राम बहादुर खड्का आकांक्षी थिए । आकांक्षी खड्कालाई भने समन्वय समिति सदस्यमा सिफारिस गरिएको छ ।

कांग्रेसका सबै उमेदवारहरुको मनोनयन दर्ता भैसकेको र हाल सम्म अन्य पार्टीले मनोनयन दर्ता नगरेको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । कांग्रेसले संयोजक, उप–संयोजक सहित सबै सदस्यहरुको टुङ्गो लगाए पनि निर्वाचन कार्यालयले आधिकारीक रुपमा आइतबार मात्रै घोषण गर्ने जनाएको छ ।

कांग्रेसले संयोजकमा सिफारिस गरेका सिंह केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् । उनले यस अघि पार्टीको जिल्ला उपसभापति भएर काम गरिसकेका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सिंह आदर्श गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । उप–संयोजक चुनारा यस अघि पूर्वीचौकी गाउँपालिकाको कार्यपालिका सदस्य रहेकी थिइन् ।

याे पनि हेर्नुस्
Loading...