चितवन – चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा वस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट ज्यान गएको छ ।
चालु आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कँदै गर्दा जङ्गली जनावरको आक्रमणमा परि विभिन्न समयमा उनीहरूको ज्यान गएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ । बाघको आक्रमणबाट १३ जनाको ज्यान गएकाे छ । यस्तै गैँडाको आक्रमणबाट ६ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको ज्यान गएको उहाँले जानकारी दिनुभयो ।
गएकाे आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको ज्यान गएकाे थियो । त्यसमध्ये गैँडाको आक्रमणबाट चार, बाघको आक्रमणबाट चार, जङ्गली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणबाट एक र बँदेलको आक्रमणबाट एक जनाको ज्यान गएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
उज्यालो बाट साभार