अछाम – अछामको पञ्चदेवल विनायक नगरपालिकामा १६ वर्षीय किशोर मृत अवस्थामा भेटिएसँगै विनायक क्षेत्र तनावग्रस्त बनेको छ । नगरपालिकाको वडा नम्बर ४, कालिकास्थानका १६ वर्षीय विनोद शाही मृत अवस्थामा भेटिएपछि विनायक क्षेत्र शनिबारदेखि तनावग्रस्त बनेको हो ।
किशोर मृत अवस्थामा फेला परेसँगै आन्दोलित आफन्तहरूले सोमवार विनायक बजारमा नगरप्रमुख अम्बिका चलाउने, अछामका प्रहरी प्रमुख रविराज थपलिया र निवर्तमान वडा अध्यक्ष सज्जनबहादुर शाहीको पुतला दहन गरेका छन् ।
किशोरको हत्यामा संलग्न रहेको भन्दै नगर प्रमुख चलाउने, निवर्तमान वडा अध्यक्ष सज्जन शाही र अपराध निम्त्याउन भूमिका खेलेको भन्दै प्रहरी प्रमुख थपलियाको पुतला दहन गरेका हुन् ।
नेपाली कांग्रेस समर्थकहरूले उनको हत्या गरेको भन्दै शनिवारदेखि आन्दोलन गर्दै आएका किशोरका आफन्तले मध्यपहाडी लोकमार्गमा चक्काजामसमेत कायम राखेका छन् ।
जेठ १७ गते साँझदेखि बेपत्ता रहेका किशोरको शव २१ गते बिहान स्थानीय कुच्ची भिरको खोँचमा फेला परेको थियो ।
शव भेटिएसँगै नगरप्रमुख चलाउनेसहित १८ जनाका नाममा प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि आफन्तहरू आन्दोलनमा छन् ।