काठमाडौं । आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई मन्त्रिपरिषद्मा पठाउने एकीकृत समाजवादीको निर्णय तत्काललाई थाती रहने भएको छ । एकीकृत समाजवादीका मन्त्रीको हेरफेरले अन्य दलमा पनि असर गर्ने र असन्तुष्टि बढेर वार्षिक बजेट पारित गर्न गाह्रो हुने देखिएपछि सत्ता गठबन्धनका नेताहरू पछि हटेका हुन् । बजेट पारित नभए सरकार अल्पमतमा पर्छ ।
बालुवाटारमा सोमबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा मन्त्रिपरिषद् हेरफेर गर्ने निर्णयपछि एकीकृत समाजवादी र जनता समाजवादी पार्टीमा उत्पन्न विवादबारे छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिले मन्त्री हेरफेर गर्दा अरू पार्टीमा पनि प्रभाव पर्ने भन्दै तत्कालका लागि निर्णय रोक्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका थिए ।
देउवा र दाहालले बजेट पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्दा सरकार सुरक्षित हुने बताएका थिए । त्यसपछि अध्यक्ष नेपाल बजेट पारित गरेर मात्रै मन्त्रिपरिषद् हेरफेर गर्न सहमत भएको त्यहाँ सहभागी एक नेताले बताए । ‘मन्त्रिपरिषद् हेरफेरकै कारण एकीकृत समाजवादीमा विवाद चर्कियो र जसपा फुट्यो भने बजेट पारित गर्न कठिन हुन्छ,’ ती नेताले भने, ‘त्यसकारण अहिले जोखिम नलिने भन्ने निष्कर्षपछि तत्काललाई मन्त्रिपरिषद् हेरफेर रोकिएको हो ।’
एकीकृत समाजवादीमा विवाद रहेको र जसपा फुट नजिक रहेको सूचनापछि प्रधानमन्त्री देउवाले बहुमत सुरक्षित गर्न लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत सरकारमा सहभागी गराउन गृहकार्य गरिरहेका छन् । तर सत्ता गठबन्धनमा यसबारे सहमति जुटेको छैन । बजेट पारित नहुँदासम्म मन्त्रिपरिषद् हेरफेर नहुने भएपछि जसपा पनि फुटबाट तत्काललाई जोगिएको छ । मन्त्रिपरिषद् हेरफेर रोकिएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्ना मन्त्रीहरूलाई बोलाएर सम्झाएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई भेटेर पार्टीको पुरानै निर्णयका आधारमा मन्त्री परिवर्तन गर्न लागेको जानकारी गराएका थिए ।
पार्टीले यसअघि नै ६ महिनामा मन्त्री परिवर्तन हुने निर्णय लिएको नेपालको भनाइ थियो । बालुवाटार स्रोतका अनुसार पार्टीकै निर्णयअनुसार मन्त्री बदल्ने नेपालको कुरामा प्रधानमन्त्री देउवाले सकारात्मक जवाफ दिएका थिए । त्यसपछि नेपालले पार्टी सचिवालयको बैठक बोलाएर पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गराए । एकीकृत समाजवादीका एक नेताका अनुसार उक्त निर्णयको जानकारी टेलिफोनबाट तत्कालै प्रधानमन्त्री देउवालाई गराइएको थियो । त्यसपछि मात्रै मिडियामा निर्णय सार्वजनिक भएको थियो ।
निर्णय सार्वजनिक हुनासाथ असन्तुष्ट मन्त्रीहरूले पार्टीको निर्णय कार्यान्वयन नगराउन ‘लबिइङ’ थाले । मन्त्रीहरू प्रेमबहादुर आले, कृष्णकुमार (किसान) श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्री छुट्टाछुट्टै समूहमा बालुवाटार पुगेका थिए । उनीहरूले तत्काल मन्त्री हेरफेर गर्दा राजनीतिले अर्को मोड लिन सक्ने र बजेट पारित गर्नसमेत चुनौती आउन सक्ने भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए । ‘संसद्बाट बजेट पारित भएको छैन । बजेटकै कतिपय विषयमा मन्त्रीहरूले जवाफ दिनुपर्ने हुन्छ । यस्तो बेला मन्त्री परिवर्तन गर्ने निर्णय नै अपरिपक्व छ,’ उनीहरूको भनाइ थियो, ‘यसलाई एकीकृत समाजवादीको मात्रै विवाद नठानियोस् । सत्ता गठबन्धनलाई समस्यामा ल्याउन सक्छ ।’ एकीकृत समाजवादी र जसपाका आधाभन्दा कम सांसदले साथ नदिँदा पनि वार्षिक बजेट पारित हुन सक्दैन ।
एकीकृत समाजवादीका मन्त्रीहरू आफूलाई जानकारी नदिई फिर्ता बोलाउने निर्णय गरिएको भन्दै असन्तुष्ट बनेका थिए । नेतृत्वले गलत समयमा र सम्बन्धित मन्त्रीलाई जानकारी नगराई अपमानित तरिकाले फिर्ता बोलाउने निर्णय गरेको उनीहरूको भनाइ छ । ‘फिर्ता गराउने निर्णय मैले मिडियाबाट नै थाहा पाएको हुँ । पार्टीबाट हामीलाई कुनै जानकारी थिएन,’ मन्त्री खतिवडाले भने । माओवादी केन्द्रका एक नेताका अनुसार सोमबार नै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादव पनि जानकार थिएनन् । गठबन्धनमा छलफलबिनै एकीकृत समाजवादीले निर्णय गरेर मिडियामार्फत सार्वजनिक भएपछि सहयात्री दलका नेता असन्तुष्ट बनेका थिए । त्यही कारण आइतबार साँझ एकीकृत समाजवादीका अध्यक्ष नेपाल खुमलटारस्थित अध्यक्ष दाहालको निवास पुगेका थिए । दाहाल र नेपालबीच करिब १ घण्टा छलफल भएको थियो ।
नेपाल निस्किएको केहीबेरमा नै एकीकृत समाजवादीका तर्फबाट प्रतिनिधित्व गर्ने विरोध खतिवडा, रामकुमारी झाँक्रीसहितका मन्त्री एकै पटक दाहालको निवास पुगेका थिए । उनीहरू ‘अध्यक्ष नेपाललाई सम्झाइदिनुस् भन्न दाहालको निवास पुगेको’ एक मन्त्रीले बताए । ‘हामी खुमलटार पुग्नुअघि नै माधव कमरेड पनि पुगेर निस्कनुभएको रहेछ । त्यतिबेलै प्रचण्डले तपाईंले हतार गर्नॅभयो, बजेटसम्म पर्खेको भए हुन्थ्यो भन्नुभएको रहेछ,’ ती मन्त्रीले भने, ‘हामीले पनि बजेट संसद्मा पेस भएको छ, मन्त्रालयगत छलफलमा जवाफ दिने तयारी गरिसकेका छौं, यस्तो बेला मन्त्री फिर्ता बोलाउने निर्णय गरेर रमिता किन देखाइएको हो, माधव कमरेडलाई सम्झाइदिनुस् भनेका थियौं ।’ ती मन्त्रीका अनुसार नेपालसँगको भेटअघि दाहालले देउवासँग यसबारे छलफल गरिसकेका थिए । ‘प्रचण्डले हामीसँग प्रधानमन्त्रीलाई पनि आग्रह गरेका छौं, आज नै तपाईंहरूको मन्त्रीपद नजाला, धेरै तनाव नलिनुस्, ढुक्क भएर जानुस् भन्नुभयो,’ ती मन्त्रीले भने ।
मन्त्रीहरूकै विरोधका कारण देउवाले एकीकृत समाजवादको निर्णय ‘होल्ड’ गरेर सोमबार बिहान सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक बोलाएका थिए । उक्त बैठकले बजेट पारित नहुँदै मन्त्री परिवर्तन गर्दा सरकारमाथि नै चुनौती आउन सक्ने निष्कर्ष निकालेको थियो । ‘गठबन्धनका दलभित्र पनि मन्त्री परिवर्तन गर्नॅपर्छ भन्ने दबाब छ, अरूले पनि गरौंला । तपाईंको टिममात्रै किन गर्ने ? बजेट पास गरौं, त्यसपछि सल्लाह गरौंला,’ प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले नेपाललाई गरेको आग्रह उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो । देउवा र दाहालको आग्रहपछि नेपाल निर्णय तत्काललाई थाती राख्न सहमत भएका थिए ।
