दाङका पालिकाहरूबीच समन्वय गर्ने अधिकार प्राप्त जिल्ला समन्वय समिति दाङको निर्वाचन जेठ २९ गते हुने भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जेठ २९ गते बिहान १० देखि ३ बजेसम्म निर्वाचन गर्ने निर्णय गरेको छ। निर्वाचनका लागि प्रक्रियासमेत अगाडि बढेको छ।
जिल्ला समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूले मतदान गर्न पाउने व्यवस्था छ। जिल्लामा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरेर १० वटा स्थानीय तह छन्।
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको एकल बहुमत छ। कांग्रेसले एक नगरपालिकासहित चार गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको छ भने दुई गाउँपालिकामा उपाध्यक्ष जितेको छ।
कांग्रेसले लमही नगरपालिकामा प्रमुख, उपप्रमुख, राजपुर गाउँपालिका, शान्ति नगर, दंगीशरण र बबई गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको छ। त्यसैगरी गढवा गाउँपालिका र बंगलाचुली गाउँपालिकामा उपाध्यक्ष जितेको छ। जिसस गठनको लागि ११ मत आवश्यक पर्छ र तर कांग्रेससँग एक्लै १२ मत छ।
त्यो अनुरूप जिसस दाङ कांग्रेसको एकल गठन हुने भएको छ। जिसस गठनको लागि एकल बहुमत भएको कांग्रेसले अझैसम्म पनि उम्मेदवार चयन भने गरेको छैन।
जिसस प्रमुखको लागि घोराही उपमहानगरपालिका वडा नं. १५ बाट वडाध्यक्षमा निर्वाचित रमेशकुमार पाण्डे र राप्ती गाउँपालिकाबाट वडा सदस्यमा निर्वाचित नित्यानन्द शर्मालगायत जनप्रतिनिधिको नाम चर्चामा छ। तर पार्टीले आधिकारिक निर्णय नगरेको दाङ कांग्रेसले जनाएको छ। अबको केही दिनमा उम्मेदवार चयन गर्ने कांग्रेसले जनाएको छ।
जिसस गठनबारे नेपालको संविधान २०७२ को धारा २२० मा व्यवस्था छ। जिससले जिल्लाका पालिकाहरूबीच समन्वय गर्ने गर्छ। अनुगमन र समन्वय नै जिससको अधिकार हो। पालिकाहरूबाट निर्वाचित प्रतिनिधिबाट जिल्ला सभा गठन हुन्छ।
निर्वाचनको मतपरिणाम सार्वजनिक भएको ३० दिनभित्र सभा बसिसक्नुपर्छ। उक्त सभाले जिसस गठन गर्ने कानुनी प्रावधान छ। जिससमा एक प्रमुख, एक उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा ९ सदस्य रहने व्यवस्था छ। यसमा उम्मेदवार हुने व्यक्ति गाउँसभा वा नगरसभा सदस्य हुनुपर्ने व्यवस्था छ।