टेकेन्द्र देउवा
उसो त डोटीको बोगटान क्षेत्र बाईसे चौबीसे राज्य कालमा नै अस्थीत्वमा रहेको एउटा राज्य हो । बि.सं १४५२ तिर तत्कालिन डोटी राजाका रैका कल्याण पालको समयमा रैका राजाको अधिनता स्वीकार गरेको ईतिहास छ । बोगटान क्षेत्र भौगोलिक हिसावले डोटी जिल्लाको दछिण पूर्वको उपल्लो बोगटान र तल्लो बोगटान गरेर महाभारत श्रङ्खला सहित चुरे क्षेत्र पर्दछ । कैलालीको मैदानी भू–भाग समेत मलवारा र बोगटान तप्का समेत यसै राज्य अन्तरगत रहेको ईतिहास छ । बोगटान क्षेत्र भित्र डोटी र कैलालीका साविकका १९ वटा गाविस र अहिलेका ५ वटा गाउँपालिका पर्दछन् ।
बाईसे चौविसे कालमा बोगटान राज्य निकै बलियो थियो । बहादुर शाहका सेना संग बोगटानी नारीहरुले यूद्ध प्रतिकार गरेर भगाएको ईतिहास भेटिन्छ । डोटीको तिखातरमा रहेको नारीदाङ भन्ने ठाउँको नाम त्यसैबाट रहेको भनिन्छ । नारीदाङ नै बोगटान राज्यको उत्तरपूर्वी सिमाना थियो ।
बाईसे चौवीसे कालमा मात्रै नभएर त्यसपछिका शासन ब्यबस्थामा समेत बोगटानी योगदानको गर्बिलो ईतिहास छ । तर पछिल्ला भौगोलिक बिभाजनहरुले बोगटानलाई दुर्गममा पा¥यो । बोगटानका हुने खानेहरु तराई झरे । आफ्नै जिल्ला सदरमुकामले अवसर होईन बिकटको उपमा दियो । जिल्ला सदरमुकाम आसपासकाहरुले बोगटानीलाई पाखे भन्न थाले । सदरमुकामबाट निकै दुरीमा रहेका बोगटानीहरु अहिले पनि आफ्नै जिल्ला सदरमुकाम सिलगढीलाई डोटी भनेर चिन्दछन् । उनिहरुले आफुलाई कहिल्यै डोटेलीको महसुस सम्म गरेनन् । यसका पछाडी भौगोलिक कुरा मात्रै नभएर राज्य शक्तामा रहेकाहरुले भावनात्मक रुपले जोड्न नसकेको पुष्ठी हुन्छ ।
यती मात्रै नभएर बोगटानकै टाँठाबाँठाहरुले बोगटानी माथी बिभिन्न नाममा शोषण मात्रै गरे । अन्यत्र बसेर बोगटानीको नाममा राजनिति गरे । बोगटानी भएर प्रतिनिधीत्व गरे । बोगटानी भोटका ठेकेदार बने । मानौ ति ठेकेदारहरुको बुझाईमा बोगटानी बस्तु हुन । तिनको किनमेल गरिन्छ । जता मुल्य पायो त्यतै बिक्रि गरिन्छ । जिल्लामा राजनिति गर्नेहरुले बोगटानका तिनै ठेकेदारहरुलाई समाते । यस्तो नभएको भए अहिले सम्म बोगटानीका माग पुरा भैसक्ने थिए । पञ्चायत देखिको बोगटान सडकको सपना पुरा हुन्थ्यो होला । बोगटानी भोटलाई प्रभावित पार्नका लागि २०४४ सालबाट सुरु भएको सडकलाई पटक पटक उद्घाटन र सिलन्यास हुदैन थियो होला । बोगटानी भोटका ठेकेदारहरुले यहाँका सोझाहरुलाई अमुख नेताका पक्षमा जिन्दाबाद गर्न लगाउँदा हुन ।
भोटका लागि सडक राजनिति
प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते डोटीको सहजपुर–बोगटान –दिपायल सडकको सिलन्यास गरे । त्यो सडकको सिलन्यास गर्ने उनि दोश्रो ब्यक्ति हुन । यस अघी २०४४ सालमा तत्कालिन जिल्ला पञ्चायत सभापती भरतबहादुर खड्काले गरेका थिए । यसरी प्रधानमन्त्री जस्तो ब्यक्तिलाई एक पटक उद्घाटन भैसकेको दोश्रो पटक उद्घाटन गराएर हाँसोका पत्र किन बनाईयो ? अहिले जताततै यसको चर्चा छ । उद्घाटन भएको सडक पुनः उद्घाटन गरिनुको पछाडी पनि काम पुरा गर्न होईन मैले कालोपत्रे गर्न सुरु गराएको हुँ भन्दै बोगटानीमा भ्रम छर्न र दोश्रो पटकका लागि भोट सुरक्षित गर्नका लागि तामझाम हुदैछ । किनभने यो डोटीको प्रबृती नै हो ।
पञ्चायत कालमा चुनाव लड्ने नेताहरुले यो सडकको मुद्धालाई उठाउने गर्दथे । प्रजातन्त्र पछिको पहिलो निर्वाचनमा चुनाव लड्ने नेताले पनि यही सडकलाई चुनावको मुद्धा बनाए । सडकको पहुँचबाट निकै टाढा दछिण डोटीका बासिन्दाले सडक बन्ने आशामा भोट हाले तर सडक निर्माणको कार्य अहिले सम्म पुरा भएको छैन । २६ बर्ष पछि हुन लागेको प्रदेश र प्रतिनिधी निर्वाचनमा उठेका नेताहरुले अहिले पनि त्यही मुद्धालाई चुनावी नारा बनाएका थिए । २०४८ सालमा संसदिय चुनाव लड्दा तत्कालिन नेपाली कांग्रेसका सांसद सिद्धराज ओझाले सहजपुर बोगटान दिपायल सडक निर्माणलाई नै मुख्य नारा बनाएका थिए । सांसद ओझाले यही सडकको नाराले देशमै सबै भन्दा बढी मतान्तरले चुनाव जितेका पनि थिए । बोगटानीलाई दिएको आश्वासन (सहजपुर बोगटान दिपायल सडक निर्माण) प्राथमिकतामा नपारेको भन्दै २०४९ सालमा सांसद पदबाट राजीनामा नै लेख्नु परेको थियो । यो सडक प्राथमिकतामा पारेपछि उनको राजीनामा फिर्ता भयो र निर्माणको काम पनि अगाडी बढ्यो । त्यसपछि २०५१ सालमा पनि सहजपुर–बोगटान –दिपायल सडक निर्माण कार्य थालेको भन्दै सिद्धराज ओझाले भोट मागे र निर्वाचन जिते पनि । २०५६ सालको संसदिय निर्वाचान सम्म यो सडकको १८ किलोमिटर ट्रयाक खुली सकेको थियो । छुट्टै परियोजना कार्यालय डोटीको बिपीनगरमा खोलेर काम थालेको जस लिदै पुन ओझाले यसै ठाउँबाट तेश्रो पटक पनि निर्वाचन जिते । यसै सडकको आशामा जनताले जिताएका ओझा ३ पटक मन्त्री पनि भए । ओझाको जिवन कालमा १८ किलोमिटर सडक मात्रै बन्यो । अहिले नेता ओझाको निधन भैसकेको छ ।
२०४२ सालमा नै यो सडकको निर्माण कार्य सुरु भैसकेको थियो । सहजपुर–बोगटान –दिपायल सडकले सधै चुनावको समयमा मात्रै चर्चा पाउने गर्दछ । क्षेत्रमा सडक बाटो नबन्दा स्थानीयले दुःख पाएकै छन । बाटो बनाउने आश्वासन जस्ले दियो उसैलाई भोट हाल्दछन् । यो यहाँका मतदाताको बाध्यता हो ।
संविधान सभाको पहिलो निर्वाचनमा चुनाव जित्ने तत्कालीन माओवादीका सभाषद खेम बमले अवरुद्ध सहजपुर–बोगटान –दिपायल सडक निर्माणलाई मुख्य नारा बनाएर भोट मागेका थिए । माओवादी द्धान्दको बेला देखि निर्माणको कार्य अबरुद्ध भएको थियो माओवादीकै उम्मेदबारलाई स्थानीयले आशा गरि भोट हाले तर उपलब्धी भएन । त्यसपछि सहजपुर–बोगटान –दिपायल सडक निर्माण आफुले बनाउने भन्दै भोट मागेका नेकपा एमालेका उम्मेदबार प्रेम बहादुर आलेमगर लाई बोगटानीले भोट हालेर जिताए । उनको कार्यकालमा पनि खासै उपलब्धी देखिएन ।
यसरी सुरु भयो कालोपत्रेको कथा
२०७१ सालमा नेपाली कांग्रेसका तत्कालिन सभापती सुशिल कोईराला प्रधानमन्त्री भए । उनको पालामा २०७१ साल मंसिर ९ गते नेपाल र भारत सरकार बिच सम्झौता भयो । उक्त सम्झौतामा एक्जीम बैंक मार्फत ५५० हजार मिलियन डलर ऋण सहयोग आउने प्रतिवद्धतापत्रमा हस्ताक्षर समेत भयो । त्यो रकम नेपालको भौतिक पूर्वाधार विकासमा खर्च गर्नुपर्ने प्रतिवद्धता थियो । आर्थिक बर्ष २०७२÷०७३ मा तत्कालीन अर्थमन्त्री राम शरण महतको पालामा बोगटान सडक बहुबर्षिय योजनामा पारियो । त्यसपछि यसै क्षेत्रका नेता रमेश लेखक भौतीक पूर्वाधार तथा यातायात मन्त्री भए । उनको पालामा बोगटान सडक र धनगढी दिपायल फाष्ट ट्रयाकको परियोजना कार्यालय नै खोलेर काम थालियो । २०७४ साल असोजमा डोटी क्षेत्र नं १ बाट २०७१ मा निर्वाचित तत्कालिन नेपाली कांग्रेसका सभासद बिरबहादुर बलायर भौतीक पूर्वाधार तथा यातायात मन्त्री भए । त्यसपछि उनको पालामा एक्जीम बैंक मार्फत आएको २ अर्व ऋण सहयोगको टेन्डर आव्हान भएको देखिन्छ ।
त्यसका पछि २०७४ मा प्रदेश र प्रतिनिधी सभाको निर्वाचन भयो । दुईवटा संसदिय निर्वाचन क्षेत्र भएको डोटी एउटा मात्रै प्रतिनिधीसभा निर्वाचन क्षेत्रमा सिमित भयो । नेपाली बाम गठवन्धनका प्रतिनिधीसभा उम्मेदबार प्रेमबहादुर आले मगर निर्वाचित भए । नेपाली कांग्रेसका उम्मेदबार बिरबहादुर बलायर १ हजार ६ सय ३५ भोटले पराजित भए । प्रदेशसभामा पनि बोगटान क्षेत्र भएको क्षेत्र नं (ख) बाट बाम गठवन्धनका उम्मेदबार त्रिलोचन भट्टले चुनाव जिते । जो अहिले सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री पनि छन् ।
साख जोगाउन कसरत
नेपाली कांग्रेस नेतृत्वको सरकारको पालमा दिपायलबाट अस्थायी राजधानी धनगढी घोषणा गरेको आक्रोसमा डोटीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले नै राजिनामा दिए । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपाका नेता भिम रावल, लेखराज भट्टको सडयन्त्रमा अस्थायी राजधानी धनगढी सारिएको आरोप लाग्यो । डोटीमा आन्दोलनकारीले यि नेता त्रयका पुत्ला दहन गरे । लामो समय आन्दोलन चल्यो । त्यस आन्दोलनमा नेकपाका नेता प्रेम आलेमगर र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सर्मथन गरे । यि नेता द्धय आन्दोलनकारी संगै धर्नामा बसे । चर्का भाषण गरे ।
तर समय फेरियो प्रदेशसभा सांसद त्रिलोचन भट्ट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भए । संघ र प्रदेशमा गठवन्धनको सरकार बन्यो । प्रदेशको नामाकरण र राजधानी तोक्ने जिम्मा तिनै त्रिलोचन भट्ट र आले मगर लगायत गठवन्धनका सांसदको काँधमा आयो । प्रदेशको नामाकरण र राजधानी त तोकियो तर डोटी भएन । त्यसपछि आक्रोस मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रेम आलेमगर लगायतका नेता माथी खनियो ।
२०७५ साल कात्तिक १ गते डोटी जिल्लालाई नेकपाका नेता एबम् प्रतिनिधि सभा सासंद प्रमे बहादुर आलेमगरलाई गृह जिल्लामा कालो झण्डा देखाईयो । जिल्ला समन्बय समिति डोटीले आयोजना गरेका कार्यक्रममा सहभागी हुन जाने बेला सांसद आलेमगरलाई स्थानीयले कालोझण्डा देखाए । प्रतिनिधि सभा निर्वाचनका बेला आफूले जिते डोटीको दिपायललाई सुदूरपश्चिम प्रदेशकोे स्थायी राजधानी बनाउने भन्दै भोट मागेको तर सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएपछि सांसद आलेले प्रतिकृया समेत नदिएको आरोप आलेलाई छ । त्यसैगरी मुख्य मन्त्री त्रिलोचन भट्ट लगायतका नेताहरुलाई पनि डोटीमा सोही आरोप लाग्ने गरेको छ । आफु माथीको आरोप चिर्न र राजनितिक साख जोगाउनका लागि यो सबै तामझाम भैरहेको छ ।
त्यसैले सोझा ब्यक्तिलाई भ्रममा पार्न कै लागि गरिने नेताका कृयाकलाप प्रति जनता सजक हुदै पर्दछ । नत्र बोगटानीको मात्रै नभएर आम डोटेलीका कैयौन पिढीको जिवन कसैको पक्षमा जिन्दाबाद मुर्दावाद भन्दैमा बित्ने छ ।
याे पनि हेर्नुस्
- फेसबुकबाट प्रतिक्रिया
- Disqus Comments