Badikedar Khabar

एएफसी महिला एसियन कप : हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको हो ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल जित निकाल्नै पर्ने दबाबमा छ ।

समूह ‘एफ’ को पहिलो खेलमा फिलिपन्ससँग अग्रता लिनका बाबजुद अन्तिम समयमा दुई गोल खान पुग्दा नेपालले २–१ को हार भोगेको थियो । उक्त खेलमा भएको गल्तीलाई सच्याउँदै नेपाल छनोटमा हङकङलाई हराउने लक्ष्यमा हुनेछ ।

नेपालले हङकङसँग दुई खेल खेल्दा दुवै खेलमा हार बेहोरेको छ । नेपालले हङकङसँग सन् १९८६ मा १–० ले तथा सन् १९८९ मा ३–० को हार बेहोरेको थियो । त्यसयता यि दुई टोली पहिलोपटक खेल्न लागेको हो ।

सन् २०१८ मा भने हङकङको राष्ट्रिय टोलीलाई नेपाल एपिएफको महिला टोलीले ३–१ को जित निकालेको थियो । महिला टोली पनि एपिएफले निकालेको जितलाई निरन्तरता दिदै हङकङमाथि पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

टोलीसँग कप्तान रेनुका नगरकोटे, सरु लिम्बु, गीता राना, हिरा कुमारी भुजेल, पुजा राना, अमृता जैशी, मन्जली कुमारी योन्जन, प्रीति राई, विमला चौधरी, सविता रानामगर, रश्मी कुमारी घिसिङ, अनिता बस्नेत, अनिता केसी र गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाको साथ रहेको छ । चोटका कारण फरवार्ड बिमला चौधरी र डिफेन्डर पुजा रानाले खेल्ने सम्भावना न्युन छ ।

फिलिपिन्सविरुद्ध गोल गरेकी विमला पहिलो हाफमा तथा पुजा दोस्रो हाफमा चोट बोक्दै मैदानबाट बाहिरिएका थिए । प्रशिक्षक ग्यारी फिलिप्सले पुजा रानाको स्थानमा विमला विकलाई डेब्यु दिएका थिए । टोलीमा सिर्जना सिंह ठकुरी, रजनी थोकर, दीपा राई र इन्दिरा राई पनि रहेका छन् ।

छनोटको तयारीका लागि नेपाली टोलीले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपुर्ण खेलमा नेपालले सविता रानामगर र प्रीति राईले डेब्यु खेलमै गोल गरेपछि नेपालले २–१ को जित निकालेको थियो । दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

याे पनि हेर्नुस्
Loading...