कैलालीको चुरे गाउँपालिकाका कर्मचारी जति सबै बिदा र फिल्ड निरीक्षणमा भन्दै बाहिर गएपछि कार्यालय सुनसान बनेको छ ।
सोमबार पत्रकारको टोली रिपोटिङका लागि चुरे गाउँपालिकाको कार्यालय पुग्दा कार्यालयमा केही सहायक स्तरका कर्मचारी र कार्यालय सहयोगीबाहेक अन्य कर्मचारीहरु भेटिएनन् गाउँपालिकाका १९ जना कर्मचारी मध्ये ७ जना कर्मचारी मात्रै कार्यालयमा थिए भने बाँकी कर्मचारी घर बिदा तथा फिल्ड निरीक्षण भन्दै कार्यालय छाडेपछि गाउँपालिका सुनसान बनेको थियो । कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत विविराज सोती बिदामा थिए ।
यस्तै अधिकृत छैठौं कालिप्रसाद भट्ट तालिम भन्दै बाहिर थिए । तर, उनी कहाँको कुन तालिममा थिए भन्ने कुरा भने कार्यालयमा थाह छैन । अधिकृत छैठौं गोरखबहादुर सिंह किरिया बिदामा, स्वास्थ्य शाखाका अधिकृत छैठौं जयराज ओझा दुर्घटनामा परेर बिदामा, प्रास मदनप्रसाद जोशी तालिममा भन्दै बाहिर छन् । उनी पनि कुन तालिममा छन् भन्ने कार्यालयलाई थाह छैन । सलेपा झुना पौडेल कोलेनिका धनगढीमा अडिट गराउन भन्दै गएकी छिन् । इन्जिनियर बिक्रम कँडेल संविधान दिवस मनाउन गाउँपालिकाको वडा नम्बर ५ खानीडाँडा थिए भने उतैबाट सोही वडाको फिल्ड निरीक्षणमा रहेको कार्यालयले बतायो ।
सव इन्जिनियर डम्बरबहादुर बोहरा गर्भा दरबार क्षेत्रको बाटो निरीक्षणमा हिँडेको बताइए पनि कहाँ गएका हुन् भन्ने थाहा नभएको स्रोतले बतायो । ऋण सहायक बिमलकुमार ओझा बेलुकी पौने पाँच बजेसम्म पनि बैंकको कामले सहजपुर गएको बताए पनि उनी पनि त्यो समयमा बैंकमा नगएको बताइएको छ । एमआईएस अपरेटर नवराज गौतम कोलेनिकामा सामाजिक सुरक्षा भत्ताको अडिट गर्न धनगढी गएको बताइएको छ । अ।सव इञ्जिनियर जयराज भण्डारी फिल्ड निरीक्षणमा गएका थिए । उनी दिउँसो ३ बजेपछि फिल्ड हिँडेका थिए । यस्तै ना।प्र।स। जंगबहादुर चौधरी बिरामी भएर बिदामा बसेका थिए ।
स्रोतका अनुसार यतिका संख्यामा कर्मचारीहरु बाहिर गए पनि उनीहरुलाई बचाउनका लागि गाउँपालिका कार्यालयले बिदा र फिल्डमा गएको बहाना तेर्साएको हो । ‘यी मध्ये अधिकांश कर्मचारीहरु गत शुक्रबार घरमा गए पनि त्यसपछि भने कार्यालयमा हाँजिर हुन आएका थिएनन,’ स्रोतले भन्यो,‘सोमबार कार्यालय समयमा उनीहरु नआएपछि समाचार संकलनका लागि गएको पत्रकार टोलीलाई उनीहरुले घुमाउरो जवाफ दिँदै कार्यालयले फिल्ड तथा बिरामी बिदाको बहाना बनाइदिएको हो ।’ सोमबार कार्यालयमा भने अधिकृत छैठौं धर्मराज भट्ट, नासु सर्वेसकुमार कठरिया, समविनि लक्ष्मी पन्त, खापासटे शिवराज भट्ट कास मनिरत्न अम्मै, सुपअ कृष्णबहादुर भाट र रोजगार संयोजक हीराकुमारी भाट मात्रै कार्यालयमा उपस्थित रहेका थिए ।
कार्यालयका निमित्त धर्मराज भट्टका अनुसार अधिकांश कर्मचारीहरु कोही किरिया विदा त कोही दुर्घटना भएर बिरामी बिदामा थिए भने कर्मचारीहरु फिल्ड निरीक्षणमा गएका हुन् ।
पत्रकारको टोली आउने खबर पाएपछि गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगर र उपाध्यक्ष दीपादेवी साउँद गाउँपालिकाको कार्यालयमा आएनन् ।