जिल्ला प्रशासन कार्यालय डोटी यती बेला निमित्तको भरमा चलिरहेको छ ।
तत्कालिन प्रमूख जिल्ला अधिकारी सुनील खनाल साउन १० गते सरुवा भएर गृह मन्त्रालय गएपछि सहायक प्रमुख जिल्ला अधिकारी कीरण जोशी एक्लैले निमित्तको जिम्मेवारी सम्हालेर प्रशासन धानीरहेकी छन ।
एक्लै जोशीले निमित्त प्रजिअकोरुपमा जिम्मेवारी समालेकी हुन् ।
राजपत्राङ्कित प्रथम श्रेणीको दरबन्दी रहेको डोटीमा हाल प्रमुख जिल्ला अधिकारी बिहिन भएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयमा दुइ जना राजपत्राङ्कित तृतीय श्रेणीको दरबन्दी रहेको भएपनि प्रशासकीय अधिकृतको दरबन्दी पनि रिक्त छ । यो भन्दा पहीले एक जना प्रशासकीय अधिकृत कार्यरत थिए साउन ३ गते गुल्मी जिल्ला सरुवा भएर साउन २८ गते रमाना बुझेर हिनेपछी अधिकृतको दुई वटै दरबन्दी रिक्त रहेको हो ।
प्रमुख जिल्ला अधिकारीको दरबन्दी मात्र होईन प्रशासन कार्यालयमा राजपत्राङ्कित प्रथम श्रेणीका ७ जना नायव सुब्बाको दरबन्दी छ जसमध्ये ५ वटा दरबन्दी रिक्त रहेको छ ।
त्यस्तै राजपत्राङ्कित द्वितीय श्रेणीका ४ वटा खरिदारको दरबन्दी मध्ये ३ वटा दरबन्दी पनि रिक्त रहेको छ । दुई वटा कम्प्युटर अपरेटरको दरबन्दी पनि रिक्त रहेको छ जसमा हाल करारमा जनशक्ति व्यवस्थापन गरि काम चलाइएको छ ।
दरबन्दी अनुसार कर्मचारी अभाव हुदाँ कार्यालयबाट दैनिक रुपमा सेवा प्रवाहका साथै सार्वजनिक सरोकारका कार्यक्रममा समेत सहभागि हुन असहज हुने गरेकोे निमित्त प्रजिअ जोशीले बताईन् । सबै कर्मचारीहरुले सुविधायुक्त ठाउँ नै रोज्ने भएकाले कर्मचारी अभाव हुने गरेको निमित्त प्रजिअ जोशीको बुझाई छ ।
जिल्ला प्रशासन कार्यालयमा कर्मचारी अभावको बारेमा गृह मन्त्रालयलाई पटक पटक जानकारी गराईसकेको भएपनि कार्मचारी पदपुर्ति हुन नसकेको उनले बताईन् ।
‘जिल्ला प्रशासन कार्यालय डोटीमा कर्मचारी अभाव रहनु अब नौलो विषय होइन । सकभर डोटीमा कर्मचारीहरु आउनै मान्दैनन आइहालेमा सक्दो छिटो सरुवा मिलाएर जाने गरेका कारण प्रशासन कार्यालयले सदैव कर्मचारी अभाव झेल्ने गरेको छ ।’ गैर सरकारी संस्था महासंघ डोटीका अध्यक्ष रघु बहादुर कठायतले भने ।
जिल्ला प्रशासन कार्यालय मात्रै होइन, जिल्लाका अधिकांश कार्यालयहरु निमित्तको भरमा चलेका छन् ।
जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र, बाल सुधार गृह र नापी कार्यालय पनि निमित्तकै भरमा सञ्चालित छन् ।
सरकारी वकिल कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला निर्वाचन कार्यालय, इलाका हुलाक कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाई पनि निमित्तकै भरमा चलेका छन् । प्रदेश सरकार मातहत रहेका अधिकांश डोटी जिल्लाका स्थानिय तहका कार्यालयहरुमा पनि यस्तै अवस्था रहेको छ ।
अधिकांश कार्यालयमा तोकिएको भन्दा एक तह मुनिकै कार्यालय प्रमुख रहने परिपाटी छ ।
साथै डोटीका नौ वटै स्थानीय तह लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका छन् ।
जिल्लाका दुवै नगरपालिका निमित्तकै भरमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरवन्दी तेरिज अनुसार राजपत्रांकित द्वितीय श्रेणी ९उपसचिव १० औं तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।
२०७५ वैशाखमै उक्त दरवन्दी सार्वजनिक गरिएको भएपनि हालसम्म दरवन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत डोटीमा आएका छैनन् । दिपायल सिलगढी नगरपालिकामा राजपत्रांकित तृतीय श्रेणी ९सातौं तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत छन् । यस्तै शिखर नगरपालिकामा राजपत्रांकित तृतीय श्रेणी ९छैंटौं तह० का अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको कामकाज गरिरहेका छन् ।
सात गाउँपालिकामध्ये कुनैमा पनि दरवन्दी अनुसारका प्रमुख प्रशासकीय अधिकृत छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा ‘कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले निजामति सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशाकसीय अधिकृतको रुपमा काम गर्न खटाउनेछ’ भन्ने व्यवस्था छ ।
तर, पूर्वीचौकी गाउँपालिकामा साविकको स्थानीय निकायले स्थायी गरेका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन् ।
पूर्वीचौकीमा साविकको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत निमित्त छन् । उनी निजामती सेवाका कर्मचारी होइनन् । पूर्वीचौकीमा आठौं तहको दरवन्दी छ ।
यस्तै आठौं तहको प्रमुख प्रशासकीय अधिृकतको दरवन्दी रहेको बडीकेदार गाउँपालिकामा निजामति सेवाका छैटौ तहका कर्मचारी निमित्त छन् ।
आठौं तहकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने सायल गाउँपालिकामा निजामती सेवाको छैटौं तहका कर्मचारी निमित्त छन् ।
यस्तै केआई सिंह गाउँपालिका, जोरायल र आदर्श गाउँपालिकामा पनि आठौं तहको दरबन्दी रहेको छ । तर सातौं तहका कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिरहेका छन् ।
बोगटान फुडसिल गाउँपालिकामा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका छन् । गाउँपालिकामा विद्यालय निरीक्षकहरुले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।