कैलालीको बर्दगोरियामा सम्पन्न भएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनले लोकेन्द्र बहादुर शाहीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको विधान बमोजिम अध्यक्ष, उपाध्यक्ष, सहित पाँच जना सदस्य नेपाली काँग्रेसको भाग परेपछि के आई सिंह गाउँपालिका डोटीका अध्यक्ष शाही अध्यक्षमा निर्वाचित भएका हुन ।
उपाध्यक्षमा खप्तड छान्ना गाउँपालिका बझाङका अध्यक्ष उत्तमबहादुर रोकाया निर्वाचित भएका छन् । सदस्यमा नृप खड्का, भगवती चौधरी, विष्णु देवी नाथ, जगत सिंह ठगुन्ना र मञ्जु महरा निर्वाचित भएका छन् ।
सचिव र सह सचिव नेकपा एमालेको भागमा परेको थियो । गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया सचिवमा निर्वाचित भएका छन् । तुर्माखाद गाउँपालिका अछामका अध्यक्ष डम्बर बहादुर बिसी सह सचिवमा निर्वाचित भएका हुन ।
एमालेले सचिव, सह सचिव र अन्य दुई जना डोल्मा तामाङ र माधवी जोशी सदस्यमा निर्वाचित भएका हुन ।
यस्तै कोषाध्यक्ष भाग परेको नेकपा माओवादी केन्द्रका मार्मा गाउँपालिका अध्यक्ष जमान सिंह धामी निर्वाचित भएका छन् ।
माओवादी केन्द्रले कोषाध्यक्ष सहित २ सदस्य पाएको थियो । सदस्यहरूमा वसन्त बहादुर चलाउने र मैना रावल निर्वाचित भएका हुन । नागरिक उन्मुक्तिबाट जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा देवी कठरिया सदस्यमा निर्वाचित भएकी हुन ।